जोखिम भत्ता नपाएको भन्दै हरिपुर नगरपालिकामा स्वास्थ्यकर्मीको धर्ना

हरिपुर नगरपालिका कार्यालय भवनमा धर्नामा बसिरहेका स्वास्थ्यकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुले नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

गत चैत २० गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै स्वास्थ्यकर्मीहरु गत शुक्रबार गतेदेखि धर्नामा बसिरहेका हुन् । बैठकले कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा खटिँदा तलबको सतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत पोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले निर्णय गरेको चार महिना भन्दा बढी भइसक्दा समेत सेवा सुविधा नपाएपछि आन्दोलन नै गर्नुपरेको पिडारी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र साहले बताए । उनका अनुसार एक÷दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै बसेर सेवा प्रदान गरिरहेका छन् भने बाँकी नगरपालिकामा आएर धर्नामा बसिरहेका हुन् । स्वास्थ्यकर्मीहरुले गत बिहिवार थ्रोट स्वाब संकलन भइरहँदा हरिपुरस्थित हात्तीसार मैदानमा जम्मा भएर सांकेतिक रुपमा विरोध जनाएका थिए ।

त्यस यता शुक्रवारदेखि नगरपालिका कार्यालयमै धर्नामा बसिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम सुरक्षा भत्ता र स्वास्थ्य सुरक्षा सामग्री माग गरेका छन् । संकटको समयमा जोखिम मोलेर काम गर्दा समेत श्रम शोषण नगर्न स्वास्थ्यकर्मीहरुले माग राखेका छन् । आन्दोलित स्वास्थ्यकर्मी र नगरपालिकाबीच आईतबार दिउँसो भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

वार्तामा नगरप्रमुख जमिरुदिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले, विभिन्न वडाका वडाध्यक्ष र आन्दोलित स्वास्थ्यकर्मीका केही प्रतिनिधि सहभागी भएका थिए । क्वारेन्टाइनमा खटिँदा दिने भनिएको सय प्रतिसतको साटो ३० र स्वास्थ्य संस्थामा खटिँदा दिने भनिएको ५० प्रतिसतको साटो १५ प्रतिसत मात्रै भत्ता उपलब्ध गराउने बताइएपछि स्वास्थ्यकर्मीहरुले अस्वीकार गरेका छन् ।

हरिपुर नगरपालिकाका प्रमुख जमिरुदिन मन्सुरले बजेट अभावका कारण निर्णय अनुसार स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन नसकिएको बताए । हरिपुर नगरपालिकामा हरिपुरमै एउटा प्राथमिक स्वास्थ्य केन्द्र तथा लक्ष्मीपुर, फरहदवा, पिडारी र जानकीनगरमा गरी चारवटा स्वास्थ्य चौकी र हरैया, मजुर्वा, इन्द्रपुर र चिताईनमा चारवटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । ती स्वास्थ्य संस्थाहरुमा ६५ जनाको हाराहारीमा स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।