सर्पको टोकाईबाट सुवेदीको निधन

हरिवन – सर्पको टोकाईबाट सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशिला सुवेदी प्याकुरेलको निधन भएको छ ।

आईतबार साँझ हरिवन–८ बेताली स्थित आफ्नै घरको भान्सा कोठामा सुशिलालाई गोमन सर्पले टोकेको स्थानीय बासिन्दाले बताएका छन् । घरमा एक्लै बस्ने गरेकी उनले आफूलाई सर्पले टोकेको भन्दै चिच्याएपछि स्थानीयले उद्धार गरेर नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी सुशिलाको एउटै खुट्टामा तीन ठाउँमा टोकेका कारण सर्पदंश उपचार केन्द्र पुर्याएर उपचार सूर गर्ने बितिकै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी नेकपा सर्लाहीका नेता विदुर प्याकुरेल तथा नेकपा सम्बद्ध युवा नेता राधाकृष्ण प्याकुरेलकी आफ्नै दिदी हुन् । वागमती सिंचाई आयोजनाकी जागिरे सुशिलाका श्रीमान सहित छोराहरु भने काठमाडौं बस्दै आएका छन् । उनी घरमा एक्लै बस्दै आएकी थिईन् । अहिले उनको शव घरमै ल्याएर राखिएको छ । सोमबार बिहान श्रीमान एवं छोराहरु आएपछि मात्र दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।