भारत छिराउन तयार पारिएको ६०० कार्टुन मदिरा सर्लाहीको सिमाक्षेत्रबाट बरामद्

बलरा – सर्लाहीको दक्षिण–पश्चिम भारतीय सिमा क्षेत्र स्थित सिमा प्रहरी चौकी बलराको गस्ती टोलीले ठूलो परिमाणमा ‘सिलप्याक’ मदिरा बरामद् गरेको छ । ६०० कार्टुन सोफी नामक ‘सिलप्याक’ मदिरा बरामद् गरिएको प्रहरीले जनाएको छ ।

बलरा नगरपालिका–१ स्थित भारत र नेपालको दशगजा क्षेत्रबाट भारत तर्फ भन्सार चोरी निकासि गरी लैंजादै गरेको अवस्थामा प्रहरी उक्त मदिरा बरामद् भएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । प्रहरी उपरीक्षक पोखरेलका अनुसार गस्ती टोलीलाई देख्ने वितिकै तस्कर समूह भने फरार भएका छन् ।

बरामद् मदिरा तीन लाख ६१ हजार मुल्य बराबरको भएको प्रहरीले जनाएको छ । शुक्रबार राती बरामद् मदिरा शनिबार नै भन्सार कार्यालयलाई बुझाईसकिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । उक्त मदिरा सदरमुकाम मलंगवासम्म ल्याउनका लागि जिल्ला प्रहरी कार्यालयको वाट टन गाडी सहित ४ वटा जीप प्रयोग गर्नु परेको थियो ।

कोरोना भाईरस संक्रमण रोक्न भन्दै दुवै देशले सिमा भएर आवतजावतमा कडाई गरेपनि तस्करी कार्यभने जारी नै रहेको यो घटनाले पुष्टी गरेको छ । यद्यपी प्रहरी उपरीक्षक पोखरेलले भने सिमाक्षेत्रमा सकेसम्म आवतजावतमा कडाई गरिएको बताउँछन् ।