लालबन्दी र बरहथवाको रिपोर्टमा ढिलाई हुँदा संक्रमित निर्धक्क घुमिरहेको हुन सक्ने त्रास

सोमबार हरिवन नगरपालिकाको नयाँ भवनमा स्वाब दिँदै नेकपा नेता चूडामणि वाग्ले । (तस्बिर : चूडामणि वाग्लेको फेसबुकबाट)

लालबन्दी – सर्लाहीका लालबन्दी र बरहथवाबाट थ्रोट स्वाब संकलन गरी पठाएको सातादिन हुन लाग्दा समेत रिपोर्ट नआउँदा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासी त्रसित बनेका छन् ।

वडाध्यक्ष सहित तीनजनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि लालबन्दीमा गत शनिबार ६१ जनाको स्वाब जनकपुर पठाईएको थियो । त्यस्तै सोमबार १२३ जनाको थ्रोट स्वाब हेटौंडा पठाईएको थियो । तर दुवै ल्याबबाट अहिलेसम्म रिपोर्ट नआएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखा संयोजक सूर्यनारायण चौधरीले जानकारी दिए ।

‘दुवै ठाउँबाट रिपोर्ट आउनै ढिला भयो, सबैले सोधेर हैरान पारिसके, अनि फेरि रिपोर्ट ढिला आउँदा संक्रमित व्यक्ति निर्धक्क बजारमा घुमिरहेको हुन सक्ने त्रास पनि छ’, चौधरीले भने, ‘हेटौंडाबाट आज साँझसम्म रिपोर्ट आउँछ भनेको छ भने जनकपुरले भोलीसम्ममा दिन्छौं भनेको छ ।’ संक्रमितहरुको सम्पर्कमा आएकाको आधारमा तथा ज्वरो आउने लगायत अन्य स्वास्थ्य समस्या देखिएर स्वाब दिएकाहरु निर्धक्क हिँड्डुल गर्न थालेपनि परीक्षण रिपोर्ट भने अनिश्चित बन्दा स्थानीयमा त्रास बढेको छ ।

त्यस्तै बरहथवा नगरपालिकाबाट पनि गत शनिबार नै ३०८ जनाको स्वाब संकलन गरेर वीरगंज पठाईएको थियो । त्यसको पनि अझै रिपोर्ट आएको छैन । स्रोतका अनुसार वीरगंज ल्याबमा आधा भन्दा बढीको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि उक्त स्वाब टेकु पठाईएको छ ।

हरिवनको दुई दिनमै आयो

यता हरिवन नगरपालिकाले गत सोमबार नै संकलन गरेर पठाएको स्वाबको रिपोर्ट भने गत बुधबारबाटै धमाधम आएर विहिबार साँझसम्म सकिएको छ । हरिवनबाट पठाईएको ४११ जनाको स्वाब मध्ये २३ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंका अनुसार संक्रमित २३ जनामध्ये हरिवन निवासी एवं हरिवन कार्यक्षेत्र भएका २१ जनालाई आईसोलेसनमा राखिसकिएको छ ।

हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंह पनि मेयर प्रसाईंकै सकृयताले स्वाबहरुको रिपोर्ट अत्यन्त छिटो आएको बताउँछन् । ‘पहिला त मंगलबार बिहान ९ बजे काठमाडौंको टेकु अस्पताल पुगेको स्वाब लिनै मानिएको थिएन, मेयर साबले स्वास्थ्य मन्त्रीज्यू लगायत अन्य सरकारी अधिकारीहरुलाई फोन गरेर स्वाब लिन लगाउनु भयो’, सिंहले भने, ‘मेयर साबले पटक–पटक चासो लिएकाले स्वाब राख्ने मात्र हैन दुई दिनपछि नै धमाधम रिपोर्ट आउन थाल्यो र तेस्रो दिनमा त सबै क्लियर नै भयो ।’