समुदायमा संक्रमण फैलिएको भन्दै हरिवनमा भोलीबाट १५ दिनसम्म सबै पसल र यातायात ठप्प

कोरोना भाईरस संक्रमितलाई राख्न आईसोलेसनको रुपमा तयार पारिएको हरिवन नगरपालिकाको नयाँ भवन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाद्वारा गत साउन २६ गते सोमबार संकलित ४११ जनाको थ्रोट स्वाब मध्ये १३ जनामा कोरोना भाईरस संक्रमण देखिएपछि भोली (शुक्रबार) देखि नगर क्षेत्रमा बजार तथा यातायात आवागमनमा पूर्ण रुपले ठप्प पारिने भएको छ ।

व्यापारी, सरकारी कर्मचारी, सहकारीका कर्मचारी, सुरक्षाकर्मी, होटलव्यवसायी लगायतमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदाय स्तरमै कोरोना फैलिएको भन्दै हरिवन नगरपालिका कार्यालयले नगर क्षेत्र पूर्ण रुपले ठप्प (सिल) पार्ने भएको हो । नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले भोली (शुक्रबार) बाट नगर क्षेत्रमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरु तथा निजी तथा सार्वजनिक याातायातका साधनहरु १५ दिनसम्म पूर्ण रुपले बन्द हुने जानकारी दिए । ‘आज आएको रिपोर्टले हरिवनमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको स्पष्ट भएको छ, त्यसैले अब यो महामारीबाट जोगिनका लागि कम्तिमा १५ दिनसम्म सबै नगरबासीले दुःखकष्ट व्यहोर्नै पर्नेछ’, मेयर प्रसाईंले उज्यालो अभियानसँग भने, ‘अब औषधी पसल बाहेक बजार पूर्ण रुपले बन्द गर्ने तथा अत्यावश्यक बाहेक यातायातका सम्पूर्ण साधन बन्द गर्ने निर्णय भएको छ, संक्रमणबाट जोगिनका लागि सबैले यो नियम पालना गर्ने गराउने तर्फ ध्यान दिनसमेत आग्रह गर्दछु ।’ एकदुई दिनभित्रै संक्रमितका परिवार तथा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उनीहरुसँग सम्पर्कमा रहेका अन्यको पनि स्वाब संकलन गर्ने तयारी गरिएको मेयर प्रसाईंले बताए ।

शुक्रबार आएको रिपोर्ट अनुसार हरिवन नगरपालिका–११ निवासी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरन्जन साह सोनार सहित ५ जना, हरिवन–८ निवासी एक होटल व्यवसायी सहित ३ जना, हरिवन–७ निवासी मालपोत कार्यालय हरिवनमा कार्यरत १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको मेयर प्रसाईंले जानकारी दिए । त्यस्तै सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत बागमती निवासी १ जना, लालबन्दी स्थित युनाईटेड ईन्स्योरेन्स कम्पर्नीमा कार्यरत लालबन्दी नगरपालिका–१ निवासी १ जना, सशस्त्र प्रहरी बेस क्याम्प हरिवनका १ जना सशस्त्र प्रहरी नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस पोजेटिभ देखिएको हरिवन नगरपालिका कार्यालयले जनाएको छ ।

अहिले साँझबाट हरिवन निवासी कोरोना संक्रमितहरु धमाधम हरिवन–११, बाँसाटोल स्थित नगरपालिकाको नयाँ भवनमा बनाईएको आईसोलेसनमा आईरहेको मेयर प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंका अनुसार हरिवन नगरपालिका निवासी ९ जना, सशस्त्र प्रहरीका सई तथा सगनु बचत तथा ऋण सहकारी संस्थामा कार्यरत बागमती निवासी १ जना गरी ११ जनालाई नगरपालिकाको नयाँ भवन स्थित आईसोलेसनमा राखिने छ ।