लालबन्दीबाट स्वाब पठाएको पाँच दिन बित्दा रिपोर्ट आएन, हरिवनकाेे दुई दिनमै २१८ जनाको रिपोर्ट नेगेटिभ

जनार्जन खत्री/लालबन्दी – सर्लाहीको लालबन्दीबाट पठाएको थ्रोट स्वाबको पाँच दिन बितिसक्दा समेत रिपोर्ट आएको छैन् । एकजना वडाध्यक्षसहित चार जना कोरोना संक्रमितको कन्ट्रयाक ट्रेेेेसिङ आधारमा नगरपालिकाले गत शनिवार ६१ जनाको स्वाब लिएर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर पठाएको थियो । तर आज सम्म पनि रिपोर्ट नआएको हो । दुई दिनअघि देखिनै भोली/भोली भन्दै टार्दै आएको जनकपुर ल्याबमा आज (बुधबार) सम्पर्क गर्दा अझै विभिन्न ठाउँको १७ सय स्वाबपछि मात्रै लालबन्दीको पालो आउने जवाफ दिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले बताए । रिपोर्ट आउन ढिला हुँदा स्वाब दिएकाहरुबाट तीव्र रुपमा आक्रोश र गुनासो आइरहेकाले आफूहरुले चाँडो गरिदिन आग्रह गरिरहेको स्वास्थ्य संयोजक चौधरीले बताएका छन् । यस्तै लालबन्दीबाटै सोमबार हेटौंडास्थित बाग्मती प्रदेश सरकारले कीटजन्य रोग अनुसन्धान केन्द्रमा सञ्चालन गरेको ल्याबमा स्वाब पठाइएको १२३ जनाको पनि अझै रिपोर्ट आउन सकेको छैन् ।

हेटौंडा ल्याबले पनि दुई दिनदेखि भोली भन्दै आएको र आज दिउँसो फोन गर्दा भोलीसम्म पर्खन भनेको नगरपालिकाको स्वास्थ्य शाखाका उप–संयोजक सुरेन्द्र खतिवडाले बताए । लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले यहाँबाट हतार–हतारमा स्वाब लिएर पठाएपनि ल्याबले रिपोर्टमा ढिलाई गरिदिँदा समस्या भइरहेको बताए । जनकपुर र हेटौंडा पठाएको स्वाबको रिपोर्ट आएपछि थप रणनीति बनाएर अघि बढिने नगरप्रमुख खड्काले जानकारी दिए ।

उता हरिवन नगरपालिकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमवार नै पठाएको ४११ जनाको थ्रोट स्वाबको रिपोर्ट भने आज दिउँसोबाट धमाधम आइरहेको छ । हरिवन नगरपालिकाका स्वास्थ्य संयोजक शशीकान्त सिंहका अनुसार अहिले साँझसम्ममा २१८ जनाको रिपोर्ट आइसकेको र सबैको रिपोर्ट नेगेटिभ रहेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आज पनि सर्लाहीमा केही संक्रमित थपिएको उल्लेख गरेपनि जिल्लाको सम्वन्धित निकायमा आधिकारिक जानकारी आइरहेको छैन् । जिल्ला प्रशासन कार्यालय, मलंगवाका प्रशासकीय अधिकृत राम प्रमोद यादवले कहिले काँही आज परीक्षण गर्दा पोजिटिभ आएको संक्रमितहरुको बारे विस्तृत विवरण ल्याबबाटै भोलीपल्ट समेत पठाउने गरेको बताए ।