वडाध्यक्ष सहित तीनजनामा कोरोना देखिएपछि लालबन्दी नगरपालिका आजबाट अनिश्चितकालिन ‘सिल’ (फोटो फिचर सहित)

सिल गरिएपछि शनिबार लालबन्दी बजारका दृष्यहरु । (तस्बिरहरु : कृष्णप्रसाद थपलिया/उज्यालो अभियान)

लालबन्दी – वडाध्यक्ष सहित तीनजनामा कोरोना भाईरस देखिएपछि सर्लाहीको लालबन्दी नगरपालिका आज (शनिबार) बिहानबाट अनिश्चितकालका लागि ‘सिल’ गरिएको छ ।

अस्पताल, औषधी पसल बाहेक सम्पूर्ण पसलहरु, सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वितिय संस्था अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले जानकारी दिए । ‘वडाध्यक्ष, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेतलाई कोरोना भाईरस देखिएपछि लालबन्दी नगरपालिका भित्र अस्पताल र औषधी पसल बाहेक सम्पूर्ण व्यवसाय बन्द गरिएको हो’, मेयर खड्काले उज्यालो अभियानसँग शनिबार भने, ‘कोरोना भाईरस समुदायमै फैलिएको हुन सक्ने भएकाले अब आजैबाट पीसीआर टेष्ट सूरु गर्ने तयारी गरेका छौं ।’

नगरपालिकाले शुक्रबार साँझै आकस्मिक रुपमा सूचना प्रकाशित गरी सम्पूर्ण व्यवसाय तथा संघ संस्था बन्द गर्ने जानकारी गराएको थियो । यद्यपी शनिबार बिहान तरकारी बजार तथा केही होटलहरु खुलेको स्थानीयले बताएका छन् । पछि सुरक्षाकर्मीले तरकारी बजार लगायत सबै पसलहरु बन्द गराएका थिए । आज तरकारी व्यापारीहरुलाई सम्झाई बुझाई गरिसकिएको र भोलीबाट तरकारी बजार समेत नलाग्ने ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । बजार खोल्ने तथा यातायात आवागमनमा पूर्ण रुपले कडाई गरिएको प्रहरी निरीक्षक थापाको भनाई छ ।

यही साउन २१ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको ४१ जनामध्ये लालबन्दी नगरपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठ सहित तीनजनामा कोरोना भाईरस देखिएको रिपोर्ट शुक्रबार आएको थियो । वडायक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उज्यालो अभियानलाई बताए ।

संक्रमित तीनै जनालाई शुक्रबार नै नवलपुरस्थित कृषि सामग्री कम्पनि लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइसकिएको छ । लालबन्दीमा यो सहित दोस्रो पटक कोरोना संक्रमित थपिएका हुन् । यसअघि साउन २ गते र १९ गते दुई पटक थ्रोट स्वाब परीक्षण गराउँदा भारतको केरलाबाट आएका एक जनामा कोरोना संक्रमण पाइएको थियो । उनी अहिले नवलपुर आइसोलेसनमै छन् ।

यसैगरी लालबन्दी घर भएका एक जनाको गत बुधवार मात्रै चन्द्रनिगाहपुरमा गएका बेला थ्रोट स्वाब परीक्षण गराउँदा कोरोना पोजिटिभ पाइएको थियो । उनी चन्द्रनिगाहपुरबाट थप उपचारका लागि पाटन अस्पताल, ललितपुर गएको बुझिएको छ ।

लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न लालबन्दी प्रहरीले केही दिनदेखि कडाई गरिरहेको थियो । शुक्रबार मात्रै बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने ३४ जनालाई जनही एक सय रुपियाँका दरले जरिवाना तिराइएको लालबन्दीका प्रहरी निरीक्षक थापाले बताए ।