छिनछिनमा विद्युत कट्ने समस्याले उपभोक्ता हैरान

हरिवन – केही दिनयता छिन छिनमा विद्युत कट्ने समस्याले सर्लाहीबासी हैरान भएका छन् ।

कुनै दिन त १०–१० मिनेटमा विद्युत झ्याप झ्याप कटने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा सर्लाहीबासी आजित बनेका छन् । अत्यन्त चर्को गर्मी मौसममा विद्युत कटिरहँदा र आउँदा पनि अत्यन्त न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको हरिवनका उपभोक्ता सुमन तिलक सिंदालीले गुनासो गरे ।

अनियन्त्रित विद्युट कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको एक व्यवसायीले गुनासो गरे । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नु पर्ने अवस्था रहेको व्यवसायीहरुको गुनासो छ । त्यस्तै अनियमित विद्युत कटौतीले अनलाईन कक्षा पढ्ने विद्यार्थीहरु समेत मारमा परेका छन् ।

यता विद्युत प्राधिकरणले भने क्षमता भन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत प्रवाहमा बारम्बार समस्या आइरहेको जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईन हरिपुर, बरहथवा र मलंगवा सव–स्टेशन हुँदै सर्लाही जिल्लाभर वितरण भईरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायका अनुसार जिल्लाका तीनवटा सव स्टेशनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियर सम्म पुग्ने गरेको छ । तर सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमता भन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको रायले बताए ।

उनका अनुसार बागमती र चन्द्रनिगाहपुर बीचको जंगलमा कुनै एक ठाउँमा रुखका हाँगाविगाह भाँचिएर तारमा पर्दा पनि यहाँदेखि प्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौंसम्म विद्युत ठप्प हुने गरेको छ । सोमबार दिउँसो पनि हरिपुर सव स्टेशनमा जम्परिङ हुँदा पटक–पटक विद्युत अनियमित भएको थियो ।

वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् । नवलपुरमा बनिरहेको सव स्टेशन सञ्चालनमा नआउँदासम्म सर्लाहीमा विद्युतको समस्या रही रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैबीच चक्रघट्टा गाउँपालिका–८, औरहीमा बिद्युत ट्रान्सफर्मर बिग्रिँदा त्यहाँका झण्डै एक हजार घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । गाउँमा रहेको दुई सय केभी क्षमताको ट्रासन्फर्मर बिग्रिँदा बिजुलीबाट हुने सबै काम ठप्प भएको स्थानीय नन्दलाल साहले गुनासो गरे ।