सर्लाहीमा तत्काल कम्तिमा ६ हजार जनाको स्वाब संकलन गर्ने निर्णय

मलंगवा – सर्लाहीका २० वटै पालिकाले तत्काल ६ हजार जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना भाईरस परीक्षण गरिने भएको छ ।

हरेक स्थानीय तहले समुदाय स्तरका कम्तीमा तीन सय जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । आईतबार सदरमुकाम मलंगवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा पनि समुदाय स्तरका व्यक्तिहरुको कोरोना परीक्षण गराउने निर्णय गरेको हो । प्रजिअ पौडेलले समुदायको अवस्थाबारे जाँचबुझ गर्न नमूनाको रुपमा एउटा पालिकाले आफ्नो पालिकाभित्र कम्तीमा तीन सय जनाको जाँच गराउने निर्णय गरिएको जानकारी दिए । हाटबजारका व्यापारी, नापी, मालपोत लगायत भीडभाड हुने कार्यालयका कर्मचारी, बैंक तथा बित्तीय संस्था र स्थानीय पालिकाका कर्मचारी, प्रहरी लगायतको थ्रोट स्वाब लिएर परीक्षण गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

त्यस्तै नियमित लाग्ने बजार बाहेक अस्थायी हाटबजार बन्द गर्ने र अनावश्यक आवागमनमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ । जिल्लामा पटक–पटक यस किसिमको निर्णय भएपनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् । कोरोनाको संक्रमण बढ्दै जाँदा जिल्लामा लापरवाही चरम अवस्थामा पुगेको छ भने बजार, बैंक तथा वित्तीय संस्था र कार्यालयहरुमा सेवाग्राहीको अत्यन्त भीडभाड देखिँदै आएको छ । हेलचेक्र्याई बढेपनि जिल्लामा पछिल्ला दिनमा भने परीक्षण दायरा बढाइएको छैन् । केही समययता थ्रोट स्वाब संकलनको काम ठप्प जस्तै छ ।