नेपाल भारतबीचको सम्बन्ध नचिस्याउन नागरिक अगुवाहरुको आग्रह

भर्चुअल मिटिङमा सहभागि नेपाल र भारतका नागरिक अगुवाहरु । (तस्बिर सौजन्य : रजनिकान्त झा)

हरिवन – नेपाल र भारतका नागरिक अगुवाहरुले (आज) आईतबार दिउँसो भर्चुअल मिटिङ गर्दै सदियौंदेखि कायम रहँदै आएको दुई देशको सुमधुर सम्बन्ध नचिस्याउन आग्रह गरेका छन् ।

मिटिङमा सहभागि दुवै देशका अगुवाहरुले दुवैतर्फका सरकार प्रमुख एवं अन्य सरकारी अधिकारीहरुले व्यक्त गर्ने गरेको धारणाले सुमधुर सम्बन्ध चिसिँदै गएका भन्दै चिन्ता व्यक्त गरिएको छलफलमा सहभागि सर्लाहीका सामाजिक अभियन्ता पूर्व प्रधानाध्यापक रजनिकान्त झाले जानकारी दिए । झाका अनुसार त्यस्तै भारतीय संचारमाध्यमले नेपालको तथा नेपाली संचारमाध्यमले भारतको विषयमा अफवाह फैलाउने खालको समाचारहरु प्रकाशन प्रशारण गर्न होडबाजी चल्न थालेको र त्यस्तो होडबाजी निम्तिनु दुःखद भएको भन्दै मिटिङका सहभागिले चिन्ता व्यक्त गरेका छन् ।

‘सिमा विवादको विषय होसा् वा धार्मिक एवं साँस्कृतिक धरोहरहरुको विषयमा पछिल्लो समय दुवै देशका सरकार प्रमुख सहितका अधिकारीहरुले व्यक्त गरेको धारणाले सदियौँदेखि नागरिक स्तरमा कायम रोटीबेटी जस्तो गहिरो सम्बन्ध चिसिने अवस्था देखिएको भन्दै मिटिङका सहभागिहरुबाट चिन्ता व्यक्त भएको छ’, झाले भने, ‘नेपाली गोर्खा सैनिकले भारतको सिमा रक्षामा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत बैठकमा उठ्यो, नागरिक स्तरमा सम्बन्ध सुमधुर बनाउनै पर्छ भन्ने माग छ, त्यसैले दुवै देशका सरकार प्रमुख एवं सम्बन्धित अधिकारीहरुले अबिलम्ब वार्ताका माध्यमले सम्बन्ध सुमधुर बनाउनेतर्फ पहल गर्नुपर्नेमा साथिहरुको जोड थियो ।’

लकडाउनका कारण सिमा क्षेत्रका विभिन्न स्थानमा झडप समेत हुने गरेको र त्यस्ता घटनाले नागरिक स्तरमा समेत आक्रोश बढ्दै गएको उल्लेख गर्दै दुवै देशका सरकारी अधिकारीले अबिलम्ब त्यस्ता विषयमा सम्बोधन गर्नुपर्ने र त्यसका लागि आ–आफ्ना देशका सरकारी अधिकारीलाई आग्रह गर्ने सहमति समेत भएको झाले जानकारी दिए ।

भर्चुअल मिटिङमा नेपालको तर्फबाट जनकपुरका मुरली मनोहर मिश्र सहित सर्लाहीका रजनिकान्त झा, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, नागरिक समाजका अगूवाहरु उग्रकान्त झा, गजेन्द्रप्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो । भारतको तर्फबाट भने सितामाढी निवासी डा. देवेशकुमार ठाकुरको नेतृत्वमा डा. राज सिंह, डा. रामगणेश सिंह, अखिल भारतीय विद्यार्थी परिषदका नेता मजफ्फरपुर निवासी अजित उपाध्याय, शैलेस कुमार, विजयकुमार पासवान, रामआधार महतो, आमोदकुमार सिंह, दिवाकर चौधरी, अनुपकुमार, आशिष झा लगायतको सभागिता रहेको झाले जानकारी दिए । विगतमा पनि यस्तो छलफल चल्दै आएको र आगामी दिनमा पनि नागरिक स्तरमा सम्बन्ध सुमधुर कायम राख्ने तथा सरकारलाई झक्झक्याउने उद्धेश्यले मिटिङ जारी रहने झाले बताए ।
फोटो क्याप्सन ः भर्चुअल मिटिङमा सहभागि नेपाल र भारतका नागरिक अगुवाहरु । (तस्बिर सौजन्य ः रजनिकान्त झा)