ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा कालोब्यानर सहित आन्दोलन

ईन्दुशंकरको मूलगेटमा कालो व्यानर टाँगेर पाखुरामा कालोपट्टी बाँध्दै आन्दोलनमा उत्रिएका सुरक्षागार्डहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – ईन्दुशंकर चिनी उद्योगका सुरक्षागार्डहरु आन्दोलनमा उत्रिएका छन् ।

लाफा सेक्युरिटी सर्भिसेज प्रालि अन्तर्गत रहेर ईन्दुशंकर चिनी उद्योगमा सुरक्षागार्डको रुपमा काम गरिरहेका ४० जनाले पाखुरामा कालोपट्टी बाँधेर काम गर्न सुरु गरेका हुन् । लाफाले गत साउन ३ गते एक सूचना प्रकाशित गरी ५८ वर्षे उमेर हद लगाएर ९ जना सुरक्षागार्डलाई साउन ७ गतेदेखि लागू हुनेगरी कामबाट हटाईएको पत्र टाँस गरेपछि सुरक्षागार्डहरु आन्दोलनमा उत्रिएका हुन् ।

२०७७ असार २१ गते सेक्युरेटी सर्भिसेस र सेक्युरिटी मजदुर संगठन बीच सेक्युरिटी श्रमिकहरुलाई श्रम ऐन र सामाजिक सुरक्षा कोषमा लैजाने लगाएतको सहमति भएपनि कुनै सेक्युरिटी श्रमिकहरुको उमेरको हदबन्दी अनुरुप उमेर पुगेकाको हकमा संचयकोष, उपदान, बिदाको रकम लगायतका श्रम ऐन अनुसार कुनै सुविधा नदिई निश्कासन गरिनु गैरकानूनी भएको भन्दै उनीहरुले श्रम तथा रोजगार कार्यालय जनकपुरमा समेत उजुरी हालेका छन् । गत साउन ३ गते नै दिईएको उजुरीमा लाफा सेक्युरिटी सर्भिसेस र सेक्युरिटी श्रमिकबीच भएको सहमति कार्यान्यवनका सार्थ उक्त सहमति विपरितको गैरकानूनी निश्कासन खारेज गर्न माग गरिएको छ ।

पहिलो चरणमा विहिबारबाट हातमा कालोपट्टी बाँधेर काम गर्ने गरी आन्दोलनमा उत्रिईएको र माग पुरा नभए अझ सशक्त आन्दोलनमा जान बाध्य हुने सेक्युरिटी गर्दै आएका सुपरभाईजर हरि अधिकारीले जानकारी दिए । ‘३०औं वर्षदेखि सेवा गर्दै आएका सुरक्षागार्डलाई श्रम ऐन अन्तर्गतको ५८ वर्षे उमेरहद लगाएर निकाल्ने अनि सोही ऐनमा भएको व्यवस्था अनुसारको सुविधा भने हाँमीले पाएनौं’, अधिकारीले भने, ‘त्यसैले बाध्य भएर आन्दोलनमा उत्रेका छौं ।’