झरीमा काठ तस्करी !

सर्लाही स्थित जंगलमा दाउरा संकलन गर्दै गरेका महिला । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – झरी परेको मौका छोपी तस्करहरुले सर्लाहीका वन क्षेत्रबाट काठ तस्करी गर्दै आएका पाइएको छ ।

घारी सव–डिभिजन वन कार्यालयबाट खटिएको वन गस्ती टोलीले झरी परिरहेको रातको समयमा तस्करी हुँदै गरेको सालका पाँच थान गोलिया बरामद गरेपछि काठ तस्करीको रहस्य खुलेको हो । सागरनाथ चौकदेखि पूर्व फूलजोर बाबा साझेदारी वनबाट साइकलमा हालेर ल्याउँदै गरेको अवस्थामा १९.७३ क्यूफिट काठ बरामद गरिएको सर्लाहीका डिभिजन वन प्रमुख माधव देवले जानकारी दिए । तस्करीमा संलग्न व्यक्तिहरु भने वन कर्मचारीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका छन् । घटनास्थलबाट काठ तस्करीमा प्रयोग भएका नौँ थान साइकल बरामद भएको डिभिजन वन प्रमुख देवले बताए ।

झरी पर्ने र हुस्सु लाग्ने याममा काठ तस्करी बढ्ने गरेको छ । जिल्लामा सागरनाथ वन विकास परियोजनाका वन क्षेत्र, फूलजोर बाबा साझेदारी वन, मूर्तिया र जानकीनगर क्षेत्रका वनमा धेरै तस्करी र अतिक्रमण हुने गरेको छ । डिभिजन वन प्रमुख देवले कोरोना कहरकैबीच जारी लकडाउन, झरी परिरहेको अहिलेको समय जस्ता जटिल परिस्थितिमा पनि उपलब्ध सीमित स्रोत साधन र जनशक्ति परिचालन गरी वन क्षेत्रको संरक्षणमा गस्ती कार्यलाई तिब्रता दिईएको दावी गरे ।