सर्लाहीमा विद्युत प्रवाहमा समस्या, लालबन्दी वितरण केन्द्रको विद्युत सूचारु हुन समय लाग्ने

नवलपुरस्थित तेलबाली अगाडि चुँडिएको तार क्रेनको मद्धतमा गाँसिदै । तस्बिर : उज्यालो अभियान

जनार्जन खत्री/उज्यालो अभियान – सर्लाहीमा सुक्रवार बिहानैदेखि विद्युत प्रवाहमा समस्या देखिएको छ ।

लगातारको वर्षाले रौतहटको चन्द्रनिगाहपुरदेखि सर्लाही जिल्लाका लागि ल्याइएको ३३ केभी प्रशारण लाईनमा पटक–पटक खराबी देखिएको छ भने जिल्लामा पनि केही ठाउँहरुमा पोल ढल्ने तथा तार चुँडिने समस्या देखिएको हो । बरहथवा र मलंगवा वितरण केन्द्रले स्थानीय स्तरमा समस्या नरहेको र ३३ केभीमै फल्ट आउँदा लाईन आउने–जाने समस्या देखिएको जनाएका छन् ।

बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले स्थानीय स्तरमा समस्या नरहेको दावी गर्दै चपुरबाट ल्याइएको लाईनमै खराबी आउँदा बेला–बेलामा विद्युत कटौति भइरहेको बताए । उनका अनुसार लोकल लेभलमा समस्या आए जहाँ खराबी आएको हो, त्यहाँको मात्रै लाईन काटेर मर्मतको काम गरिने छ ।

लालबन्दी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहानैदेखि विद्युत पूर्ण रुपमा ठप्प भएपनि बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतका ठाउँहरुमा भने दिउँसोबाट सूचारु भइसकेको जनाइएको छ । तर त्यहाँ पनि बत्ती आउने–जाने भइरहेको छ ।

लालबन्दी वितरण केन्द्र अन्तर्गतका ठाउँहरुमा बत्ती आउन अझै समय लाग्ने प्राधिकरणले जनाएको छ । नवलपुरस्थित तेलवाली र बागवानी अगाडि रुख ढल्दा १०÷१२ वटा पोलको तार चुँडिएकाले दिउँसैदेखि तार गास्ने काम भइरहेको प्राविधिक मोहन श्रेष्ठले उज्यालो अभियानसँग बताए । श्रेष्ठले नवलपुर बाहेक अरु ठाउँमा क्षति नपुगेको भए अबको एक डेढ घण्टामा लालबन्दी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि विद्युत् सूचारु हुने जानकारी दिएका छन् ।

पानी र हावाहुरी चलेका बेला यसरी घण्टौंँसम्म विद्युत ठप्प हुँदा सर्लाहीवासी हैरान हुँदै आएका छन् ।