हुलाकी सडकको बिजोग ! नागरिकलाई सास्ती

सर्लाहीको कौडेनास्थित हुलाकी सडकमा पोखरी झैं बनेको खाल्डो । तस्बिर : उज्यालो अभियान

मलंगवा – वर्षौदेखि जीर्ण अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक वर्षाको पानीले झनै बिग्रिएको छ ।

जिल्लाको दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका दर्जनौँ गाउँलाई सदरमुकाम मलङ्गवासँग जोड्ने हुलाकी सडक अहिले पानी पर्न थालेपछि खराब भएको हो । यो सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने गरेको छ ।

केही दिनदेखि भइरहेको वर्षाले दक्षिण–पूर्वी सीमाना पर्सा गाउँपालिकाको संग्रामपुरदेखि दक्षिण–पश्चिम सीमाना बलरासम्मको हुलाकी सडक हिलैहिलो भएकाले सदरमुकाम मलंगवासम्म ओहोरदोहोर गर्न समस्या भइरहेको स्थानीय वासिन्दाले बताएका छन् । सदरमुकाम मलंगवा नगरपालिकाका मेयर निरसल साहले राष्ट्रिय आयोजनामा पर्ने हुलाकी सडकमा स्थानीय सरकारले लगानी गर्न नमिल्ने बताए । जसले गर्दा सडकको अवस्था सुधार गर्न नसकिएको उनको भनाई छ ।

हुलाकी सडकमा सदरमुकाम मलंगवा नगरपालिकासहित ब्रम्हपुरी, पर्सा र कौडेना गाउँपालिका तथा गोडैता र बलरा नगरपालिका पर्छन् । ती पालिकासहित हरिपूर्वा नगरपालिका, चन्द्रनगर, विष्णु, रामनगर गाउँपालिका लगायत दक्षिणी भेगका स्थानीय तहका नागरिक हुलाकी सडक खराब हुँदाको प्रत्यक्ष मारमा परेका छन् ।

गोडैता नगरपालिकाको रामवनका समाजसेवी रामचन्द्र महतोले हुलाकी सडकको अवस्था सुधार नहुँदा दक्षिणी भेगका नागरिकले लामो समयदेखि सास्ती खेप्नु परेको गुनासो गरे ।