सर्लाहीको बरहथवामा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु, चार घाईते

सांकेतिक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–११, दियरमा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् ।

शनिवार राती बाटोमा बसिरहेका बेला हीरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना ५२ प ५६४१ नं. को मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका १४ वर्षीय जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३५ वर्षीय सुरेन्द्र महतो, २२ वर्षीय श्रवण मुखिया, ३२ वर्षीय देवेन्द्र पासवान र ३५ वर्षीय शम्भु मुखिया घाईते भएका छन् ।

घाईते चारमध्ये गम्भीर अवस्थाका सुरेन्द्र महतो र श्रवण मुखियाको न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाईते देवेन्द्र पासवान र शम्भु मुखिया स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारीपछि घर फर्किएका छन् ।

मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आइतवार परिवारले बुझेका छन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको मोटरसाइकल तीव्र गतिमा चलाइएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।