रामनगर घटना : दोषीलाई कारवाहीको माग गर्दै हरिवनमा प्रदर्शन

हरिवन – सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि भएको हत्याको घटनालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले आइतवार हरिवनमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

घटनाका दोषीलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याई पीडित पक्षलाई न्याय दिलाउन माग गरिएको हो । दक्षिण–पश्चिम भेगस्थित बाग्मती नदी किनारमा पर्ने रामनगर गाउँपालिकाका स्थानीय नेकपा नेता ६० वर्षीय रामजल रायको ठीक एक हप्ताअघि गत आइतवार अज्ञात व्यक्तिले हत्या गरेका थिए । मृतकको शव आइतवार सम्म पनि जिल्ला अस्पतालमै छ ।

हत्या जस्तो जघन्य अपराधको घटनालाई राजनीतिकरण नगरी छानबिन गर्न पनि अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले माग गरेका छन् । हरिस्थित पूर्व–पश्चिम राजमार्गमा ¥याली पश्चात भएको कोण सभालाई अनेरास्ववियूका जिल्ला संयोजक विवेक मैनाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सन्देश श्रेष्ठ लगायतले सम्वोधन गर्नुभएको अनेरास्ववियूका जिल्ला सह–संयोजक समिम बाबु खानले जानकारी दिए ।

आरआर क्याम्पस काठमाण्डौंका उपसभापति एवं अनेरास्ववियूका नेता श्रीकृष्ण उपे्रतीले घटनालाई कुनै पनि पक्षबाट तोडमोड नगरी अनुसन्धान अघि बढाउन माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको बताए । रामजलको हत्या भएपछि नेकपा र काँगे्रसले सदरमुकाम मलंगवामा बेग्लाबैग्लै प्रदर्शन गरिसकेका छन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्ष रामनरेश महतोलाई नियन्त्रणमा लिएको छ ।