संक्रमितलाई आइसोलेसनमा नराखेको भन्दै बरहथवामा विरोध, जिल्लामा आज कोरोना पोजिटिभ केश शुन्य

कोरोना संक्रमितलाई आइसोलेसनमा नराखी त्यसै छाडिएको भन्दै बरहथवा नगरपालिका कार्यालय अगाडि विरोध जनाएका आएकाहरु । तस्बिर सौजन्य : भाग्यनारायण गुप्ताको फेसबुकबाट

बरहथवा – सर्लाहीको बरहथवामा कोरोना संक्रमितलाई आइसोलेसनमा नराखेर जथाभावी हिँड्डुल गर्न दिइएको भन्दै एक समूहले विरोध जनाएको छ ।

संक्रमितलाई घर पठाएर जथाभावी हिँड्न दिइएको भन्दै नगरपालिका कार्यालय अगाडि आएर एक समूहले सुक्रवार मध्यान्ह केहीबेर नाराबाजी गरेको हो । बरहथवामा हाल १३ जना नगरपालिकाले बनाएको क्वारेन्टाइनमा, ५ जना होम क्वारेन्टाइनमा र ११ जना आइसोलेसनमा रहेका छन् ।

सरकारले निर्णय गरेर निर्देशन नै दिएपछि पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएका व्यक्तिलाई १४ दिन आइसोलेसनमा बसेपछि घर पठाउन थालिएको छ । संक्रमण मुक्त नभई यसरी संक्रमित व्यक्तिलाई घर पठाउँदा समुदाय स्तरमा संक्रमण फैलने भन्दै देशव्यापी रुपमा चिन्ता व्यक्त भइरहेको छ । यसैबीच सर्लाहीमा सुक्रवार एक जना पनि कोरोना संक्रमित थपिएनन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले आज जिल्लामा कोरोना पोजिटिभ केश शुन्य रहेको बताए । हालसम्म जिल्लामा ६१७ जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।