रामनगर घटना : वडाध्यक्ष लगायत विरुद्ध जाहेरी

मृतक रामजल यादव ।

मलंगवा – सर्लाहीको रामनगर गाउँपालिकामा भएको हत्याको घटनामा वडाध्यक्ष लगायत व्यक्तिहरु विरुद्ध कारवाहीको माग गर्दै किटानी जाहेरी परेको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको आइतवार बिहान घर नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनामा सोही वडाका वडाध्यक्ष रामनरेश महतो लगायतको संलग्नता रहेको आरोप लगाउँदै मृतकका छोराले सोमवार जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दर्ता गराका थिए ।

प्रहरीले रामजल मृत फेला पर्ने बित्तिकै वडाध्यक्ष महतोलाई नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखेर अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले बताए । पोष्टमार्टम गर्न जिल्ला अस्पताल मलंगवा ल्याइएको मृतकको शव तीन दिनदेखि अस्पतालमै छ । मृतकका आफन्तले दोषी पहिचान गरी कारवाहीको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले हिजो प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाउँदै आफ्नो पार्टीको रामनगर गाउँपालिकाका स्थानीय कार्यकर्ता रामजलको वडाध्यक्षसँग बाटो ग्राबेल गर्ने विषयमा विवाद भएपछि हत्या भएको घटना शंकास्पद रहेकाले अनुसन्धान गर्न माग गरेको छ ।