खड्काले नलिने भए २८ वटा सटरको एक महिनाको भाडा

सटर भाडा छुट दिने चेतबहादुर खड्का (ढाका टोपी लगाएका) साथमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई लगायत । तस्बिर : अच्यूतम सापकोटा

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, का चेतबहादुर खड्काले एक महिनाको भाडा मिनाहा गरेका छन् ।

उनले हरिवन बजारस्थित खड्का मार्केटमा रहेका २८ वटा सटरको प्रति सटर ७ हजारका दरले १ लाख ९६ हजार रुपैयाँ भाडा नलिने घोषणा गरे । उद्योग वाणिज्य संघ हरिवनको पहल तथा हरिवन नगरपालिकाको समन्वयमा खड्काले लकडाउनलाई मध्यनजर गर्दै एक महिनाको सटर भाडा छुट गरिदिएपछि ती सटरमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले राहत महसुस गरेका छन् ।

विपतीको समयमा सटर भाडा मिनाहा गरी असल घरबेटीको व्यवहार प्रस्तुत गरेको भन्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले मंगलवार बिहान घरधनी खड्कालाई प्रत्यक्ष रुपमा भेटेर धन्यवाद ज्ञापन गरे ।

यसअघि हरिवनकै जगर्नाथ भगत कुशवाहाले हरिवन बजारस्थित कुशवाहा मार्केटमा रहेको आफ्नो ११ वटा सटरको एक महिना बराबरको ६३ हजार रुपैयाँ भाडा छुट दिएका थिए ।