परवानीपुर–मरिण चुरेको सडक स्तरोन्नति गर्न छलफल

सडकबारे छलफल गर्न परवानीपुरस्थित मरिण र लालबन्दीको सीमामा पर्ने चुरेमा भेला हुनु भएका लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन लगायत पानी परेपछि छाता ओढेर बस्दै । तस्बिर सौजन्य : लुमडी धिमाल लोचनको फेसबुकबाट

परवानीपुर – सर्लाहीको परवानीपुरहुँदै सिन्धुलीको मरिणसम्म आवतजावत हुने चुरेको सडक व्यवस्थित गर्न छलफल गरिएको छ ।

लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाका जनप्रतिनिधिसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै तर्फका नेताहरु, अन्य सरोकारवाला र स्थानीय वासिन्दाको उपस्थितिमा लालबन्दी र मरिणको सीमा चुरेमा छलफल गरिएको हो । छलफलमा हरेक बर्खायाममा बिग्रिने गरेको परवानीपुर–मरिण कच्ची सडकको स्तारोन्नति गर्न आगामी आर्थिक वर्ष दुवै पालिकाको तर्फबाट बजेट विनियोजन गर्ने सहमति भएको लालबन्दी नगरपालिका–१५, परवानीपुरका वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए ।

यस्तै सडक निर्माणका लागि प्रदेश तथा संघ सरकारमा लालबन्दीतर्फको भागमा लालबन्दी नगरपालिकाले र मरिण तर्फको भागमा मरिण गाउँपालिकाले डीपीआर बनाएर प्रदेश तथा संघ सरकारमा प्रस्तुत गर्ने गरी पनि छलफल भएको वडाध्यक्ष बलले बताए । हिउँदमा जीप, ट्याक्टर, बस लगायतका गाडी चल्ने सर्लाहीको उत्तरी चुरेभेगका कच्ची बाटो धेरै पानी पर्ने बर्खाका केही महिना बन्द हुन्छन् ।

लालबन्दी नगरपालिकामा पर्ने परवानीपुर र नारायणखोला एवं ईश्वरपुर नगरपालिकामा पर्ने कालिन्जोर घारीबथानका चुरे क्षेत्रका बस्तीमा जाने बाटो बर्खायाममा अवरुद्ध हुने गरेको छ । जसले गर्दा स्थानीय वासिन्दालाई आफू बसिरहेको ठाउँबाट अर्को बस्तीमा जान, बिरामी पर्दा अस्पतालसम्म पुग्न र हाटबजार सम्म दैनिक उपभोग्य सरसामान किन्न आउन अप्ठेरो पर्ने गरेको छ ।