सशस्त्र प्रहरीको राईफल खोस्ने भारतीयलाई छाडियो, मृतकको शव राखेर दशगजामा बसेका भारतीय पक्ष फिर्ता भए

भारतीय समूहको आक्रमणबाट भताभुंग भएको सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थलमा शुक्रबार दिउँसो जम्मा भएका भारतीय सुरक्षा अधिकारी एवं नेपालका सुरक्षा अधिकारी सहित सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

नारायणपुर – शुक्रबार बिहान पर्सा गाउँपालिका–३, नारायणपुर नाका अन्तर्गत दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय समूहबीच भएको गोलीकाण्डमा सहमति भएको छ ।

नेपाली पक्षले सशस्त्र प्रहरीको राईफल खोस्ने भारतीयलाई छाडेसँगै शुक्रबार साँझ साँढे ५ बजेदेखि नारायणपुर नाका स्थित दशगजामा मृतकको शव राखेर बसिरहेका भारतीय सुरक्षा अधिकारी अनि स्थानीय बासिन्दा फर्किएका छन् । अहिले शनिबार बिहान ५ बजे कुरा मिलेपछि उनीहरु दशगजाबाट शव उठाएर हिँडेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

‘हाँमीले पक्राउ परेका एक भारतीय नागरिक जिम्मा लगाएसँगै, हिजो साँझदेखि दशगजामा मृतकको शव लिएर बसेका भारतीय सुरक्षा अधिकारी तथा स्थानीय बासिन्दाहरु अहिले बिहान ५ बजे फर्किएका छन्’, प्रजिअ जिसीले उज्यालो अभियानसँग भने, ‘भर्खर मलंगवा आईपुगेर रेष्टमा भएकाले विस्तृत जानकारी पछि गराउने छु ।’

शुक्रबार बिहान भारतीय समूहसँग झडपका क्रममा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा भारतीय नागरिक २७ वर्षीय विकेश कुमार रायको मृत्यु भएको थियो भने थप दुईजना गोली लागेर घाईते भएका छन् । दशगजामा ड्युटि गरिरहेका सुरक्षाकर्मीलाई आक्रमण गर्दै नेपाली भूमि भित्रै पसेर थप आक्रमण गरेपछि भारतीय समूहमाथि बाध्य भएर गोली प्रहार गर्नु परेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । हवाईफायर गरेपनि पनि भिड तितरवितर नभई थप आक्रमणमा उत्रिएकाले बाध्य भएर गोली नै प्रहार गर्नुपरेको उनको दाबी छ ।

छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताईएको छ । त्यस्तै गोली लागेर भारतीय नागरिक १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाईते भएको बताईएको छ । उनीहरुको भारत स्थित स्वास्थ्य केन्द्रमै उपचार भईरहेको छ । त्यस्तै आक्रमणका क्रममा सीमा क्षेत्रमा खटिएका आफ्ना सुरक्षाकर्मीको हतियार (एसएलआर) खोस्ने भारतीय नागरिक ४५ वर्षीय ललन भन्ने नवलकिशोर रायलाई खोसिएको हतियार सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले दाबी गरेका थिए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले दिउँसैदेखि आप्mना नागरिक छाड्न दबाब दिईरहेका भएपनि नेपाली पक्षले छाड्न मानेको थिएन । दिनदहाडै सिमामा खटिएका सुरक्षाकर्मीमाथि कुटपिट सहित हतियार नै खोस्नेलाई त्यसै छाड्न नसकिने भन्दै नेपाली पक्षले अडान लिईरहेको थियो । तर नेपाली पक्ष २४ घण्टापनि आफ्नो अडानमा टिक्न सकेन र शनिबार बिहान ५ बजे पक्राउ परेका भारतीय नागरिकलाई जिम्मा लगाईयो । एक सुरक्षा अधिकारीका अनुसार पक्राउ परेका भारतीय पूरुषलाई नेपाली पक्षले जिम्मा लगाएसँगै भारतीय पक्षले पनि मृत्यु र घाईते लगायत घटनाका विषयलाई थप अगाडी नबढाउने ‘भद्र’ सहमति गरेका छन् ।

यता भारतीय सुरक्षा अधिकारी सहित बासिन्दा भने गोली प्रहार गरिएको र मृत्यु भएको क्षेत्र दशगजा नै कायम गराउन शुक्रबार दिनभर प्रयासरत थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरु दशगजा क्षेत्रमै गोलीका खोका, भुँईमा रगत लत्पतिएको दाग खोज्ने लगायत प्रमाण खोजेपनि त्यस्तो कुनै प्रमाण फेला पार्न नसकेको सशस्त्र प्रहरीका एक अधिकारीले बताए । ‘भारतीयलाई गोली लागेको दशगजाभन्दा झण्डै १०० मिटर भित्र नेपालतर्फै भएकाले उनीहरुको केही लागेन’, ती सुरक्षा अधिकारीले भने, ‘अनि केही नलागेपछि उनीहरु दशगजामा मृतकको शव राखेर दबाब श्रृजना गराउनेतर्फ लागे ।’

यो पनि पढ्नोस्

सर्लाही स्थित दशगजामा मध्यरातसम्म ‘लास’ राखेर भारतीय सुरक्षा अधिकारीको ‘ब्ल्याकमेल’ !

सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान यसरी भयो भारतीयसँग सशस्त्र प्रहरीको भिडन्त

भारतीय पक्षले शव राखेर बसेपछि दशगजा स्थित घटनास्थलमा रातभर नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ सहित सुरक्षा अधिकारीहरु बसेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी भने राती अबेर मात्र उक्त क्षेत्रमा गएका थिए । भारतीय पक्षबाट सुरक्षा अधिकारीहरु मात्र आएकाले प्रजिअ जिसी भने घटनास्थलमा नपुगी नारायणपुर गाउँमै बसिरहेका थिए । सुरक्षा स्रोतका अनुसार भारतीय पक्षबाट राती अबेर पोर्टफोलियो मिल्ने अधिकारी आएपछि प्रजिअ जिसी पनि वार्तामा सहभागि भएको र बिहान ५ बजे पक्राउ परेका भारतीय नागरिक नेपालले फिर्ता गर्ने तथा भारतीय पक्षले शव उठाएर लैजाने सहमति भएको थियो ।