सर्लाहीको नारायणपुरमा सशस्त्रले गोली चलायो, हतियार खोस्ने एक भारतीय पक्राउ, हताहती भएको आशंका

भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)

नारायणपुर – सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित सीमानाका नारायणपुर हुँदै जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ ।

हतियार समेत खोसेपछि सशस्त्र प्रहरीले प्रहार गरेको गोली पाँच भारतीय नागरिकलाई लागेको बताईएको छ । गोली प्रहार पश्चात सबै भारतीय नागरिक आफ्नै देशतर्फ भागेकाले विस्तृत विवरण प्राप्त हुन सकेको छैन । एकजनाको मृत्यु नै भईसकेको हल्ला चलेपनि पुष्टी भईसकेको छैन ।

सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार जबर्जस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर बिहान ९ बजे भारतबाट आएको एक समूहले सिमानाकामा खटिएका सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको हतियार नै खोसेर भागेका थिए । ‘नेपालतर्फ छिर्न पाउनुपर्छ भन्दै आएको भारतीय नागरिकहरुको समूहले हाम्रो एकजना केटाको हतियार नै खोसेको थियो, पछि हतियार खोस्नेलाई नियन्त्रणमा लियौं र हतियार पनि फिर्ता लिईसक्यौं’, सप्रउ श्रेष्ठले उज्यालो अभियानसँग भने, ‘१० राउण्ड हवाई फायर गर्दा समेत भिड नियन्त्रणमा नआएपछि बाध्य भएर ५ राउण्ड गोली समेत प्रहार गर्नु पर्यो ।’ अहिले भारतीय सुरक्षाकर्मीहरु समेत घटनास्थलमा आएर दुवैपक्षबीच छलफल भईरहेको सप्रउ श्रैष्ठले जानकारी दिए ।

केही दिनअघि पनि विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा खटिएको सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुको समूहले आक्रमण प्रयास गरेको थियो । भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ अवैध ढंगले सामान ओसार पसार गर्न रोकिएकाले आक्रोशित हुँदै भारतीय नागरिकहरुले सिमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतमाथि आक्रमण प्रयास गरिरहेको जानकारहरु बताउँछन् ।

याे पनि पढ्नाेस्

भारतीय समुहले अाक्रमण प्रयास गरेपछि सर्लाहीकाे फेनरा नाकामा सशस्त्रद्वारा गाेली प्रहार