फरार काेराेना संक्रमित फेला, मलंगवा ल्याईयाे

सदरमुकाम मलंगवास्थित आइसोलेसनको रुपमा प्रयोग गरिएको नर्सिङ कलेजको भवन । संक्रमितलाई होम आइसोलेसनमै बस्न भनिएसँगै यो भवन अहिले खाली छ । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिकाकाे क्वारेन्टिनबाट भागेका पाँच जना कोरोना संक्रमितलाई सदरमुकाम मलंगवा ल्याईएकाे छ ।

साेमबार सार्वजनिक भएकाे रिपाेर्ट अनुसार विष्णु गाउँपालिकाका ३४ जनामा काेराेना भाईरस पोजेटिभ आएको थियो । विष्णु गाउँपालिका–३, स्थित मधुवनगोठ स्वास्थ्य चौकीबाट गाउँपालिकाकै बत्रौल स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा लाने क्रममा राती ९ बजेतिर पाँच जना संक्रमित फरार भएका थिए । एम्बुलेन्समा हालेर लान खोज्दा फरार भएका एक जना संक्रमितलाई प्रहरीले तत्कालै पक्राउ गरेपनि अरु पाँच जना भने भाग्न सफल भएका थिए ।

साेमबार राती फरार भएका संक्रमितलाई अहिले (मंगलबार) सदरमुकाम मलंगवा स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेज स्थित अाईसाेलेसन कक्षमा ल्याईसकिएकाे प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले जानकारी दिए । उनीहरुलाई भारतीय सिमाक्षेत्र स्थित एकान्त स्थानमा लुकेर बसिरहेकाे अवस्थामा फेला पारिएकाे प्रहरीले जनाएकाे छ ।

थ्रोट स्वाब दिएको १०/१२ दिन भइसक्दा समेत रिपोर्ट नआउँदा जिल्लाको विभिन्न पालिकाको क्वारेन्टाइनमा बसिरहेकाहरु रुष्ट बनेका छन् । क्वारेन्टाइनमा धेरै दिनसम्म कष्टपूर्ण किसिमले बस्नु पर्दा उनीहरुले क्वारेन्टाइनमै तोडफोड गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने, क्वारेन्टाइनबाट भागेर घर जान खोज्ने जस्ता गतिविधि गर्न थालेका छन् ।