नगरपालिकालाई दुई लाख बढीको पीपीई सेट र भिटिएम किट सहयोग

मेयर मानबहादुर खड्कालाई सामग्री प्रदान गर्दै खत्री परिवार ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकालाई मंगलवार दुई लाख भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएको छ ।

लालबन्दी नगरपालिका–९, बस्तीपुर घर भई हाल दोहा, कतारमा कार्यरत दिनेश खत्रीले नगरपालिका कार्यालयलाई दुई लाख ४५२ रुपैँया बराबरको स्वास्थ्यकर्मीहरुले लगाउने १० सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न आवश्यक पर्ने ४ सय पिस भीटीएम किट उपलब्ध गराएका हुन् ।

खत्रीले आफ्ना परिवारमार्फत बिहान लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले जानकारी दिए । । सहयोगी दाता दिनेश खत्रीका बुवा कमल बहादुर, आमा चन्द्रमाया, काका जगतबहादुर, काकी सीतादेवी, ठूलो बुवा डम्बरबहादुर, ठूली आमा पे्रमकुमारी, दाजु टीकाबहादुर, श्रीमती जुना लगायत खत्री परिवारका अन्य सदस्यले नगरपालिका कार्यालयमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोनाको महामारी बढ्दै गइरहेको अवस्थामा अति आवश्यक पर्ने पीपीई सेट र भिटिएम किट उपलब्ध गराएको भन्दै नगरपालिका कार्यालयले सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।