आइसोलेसनमा लान खोज्दा पाँच संक्रमित फरार, खोजी चल्दै

मलंगवा-दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिकामा पाँच जना कोरोना सङ्क्रमित फरार भएका छन् ।

सोमवार थ्रोट स्वाब परीक्षणका क्रममा भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकाका ३४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सङ्क्रमण पुष्टी भएपछि सङ्क्रमितहरुलाई विष्णु गाउँपालिका–३, स्थित मधुवनगोठ स्वास्थ्य चौकीबाट गाउँपालिकाकै बत्रौल स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा लाने क्रममा राती ९ बजेतिर पाँच जना सङ्क्रमित फरार भएका हुन् ।

एम्बुलेन्समा हालेर लान खोज्दा फरार भएका एक जना सङ्क्रमितलाई प्रहरीले तत्कालै पक्राउ गरेपनि अरु पाँच जना भने भाग्न सफल भएका विष्णु गाउँपालिकाका स्थानीय सञ्चारकर्मी अकलेश बैठाले जनाएका छन् । क्वारेन्टाइनको सुरक्षाका लागि थोरै सङ्ख्यामा खटिएका प्रहरीले माक्स बाहेक अन्य स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा रोक्न खोज्दाखोज्दै पनि सङ्क्रमितहरु फरार भएका स्थानीय वासिन्दाले बताएका छन् ।

फरार सङ्क्रमितहरुको खोजी गर्न रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले फरार भएका सङ्क्रमितसँगै उनीहरुका परिवारलाई समेत अब आइसोलेसनमै ल्याएर राखिने बताए । उनका अनुसार सङ्क्रमितहरु बोर्डर क्षेत्रमा रहेको सूचना पाएको र त्यहाँबाट पक्राउ गरी आइसोलेसनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

थ्रोट स्वाब दिएको १०÷१२ दिन भइसक्दा समेत रिपोर्ट नआउँदा जिल्लाको विभिन्न पालिकाको क्वारेन्टाइनमा बसिरहेकाहरु रुष्ट बनेका छन् । क्वारेन्टाइनमा धेरै दिनसम्म कष्टपूर्ण किसिमले बस्नु पर्दा उनीहरुले क्वारेन्टाइनमै तोडफोड गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिमाथि दुव्र्यहार गर्ने, क्वारेन्टाइनबाट भागेर घर जान खोज्ने जस्ता गतिविधि गर्न थालेका छन् ।