मनकारी जगर्नाथ : जसले एक महिनाको सटर भाडा छुट गर्दिए

घरधनी कुशवाहालाई खादा ओढाएर सम्मान गर्दै मेयर गणेश प्रसाई लगायत । तस्बिर : उज्यालो अभियान

अच्यूतम सापकोटा/हरिवन – लामो लकडाउन अर्थात बन्दाबन्दीले यतिबेला सबै तिर व्यापार व्यवसाय तथा परिवारको पालनपोषण गर्न गर्दै आइरहेको कामकाज ठप्प जस्तै छन् ।

कोरोना भाईरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न भन्दै गत चैत ११ गतेदेखि मुलुकभर बन्दाबन्दी घोषणा गरेपछि धेरैको कमाई खाने स्रोत नै बन्द भएको छ । लकडाउनले गर्दा पसल व्यवसाय धेरै दिनसम्म बन्द गर्नुपर्दा विशेष गरी व्यापार व्यवसाय गर्नेलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । सरकारले एक महिनाको घरभाडा मिनाहा गरिदिन आग्रह गरेपनि धेरै घरधनीहरुले व्यवसाय गर्नेहरुसँग पैसा मागेर हैरान पारिरहेका छन् ।

तर सर्लाहीको हरिवनका एक मनकारी घरधनीले भने एक महिनाको सटर भाडा नलिने घोषणा गर्दै उदारता देखाएका छन् । घरधनी जगर्नाथ भगत कुशवाहाले हरिवन नगरपालिका–११, कुशवाहा मार्केमा रहेको ९ वटा सटरको एक महिना बराबरको ६३ हजार रुपैयाँ भाडा छुट गरेका हुन् । सरकारको आग्रह अनुसार बजार क्षेत्रमा पहिलो पटक घर भाडा छुट दिएको भन्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई र उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठले घरधनी कुशवाहालाई आइतवार खादा ओढाएर सम्मान गरे ।

मेयर प्रसाईले जारी बन्दाबन्दीले मारमा परेका व्यवसायीलाई भाडा छुट गरेर थोरै भएपनि राहत प्रदान गरिदिन बजार क्षेत्रका अन्य घरधनीहरुसँग पनि आग्रह गरेका छन् ।