पटौनाका युवाको पहल : विद्यार्थीलाई घरगाउँमै अध्ययन गर्ने व्यवस्था

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१ र ४ का युवाहरुले स्थानीय बालबालिकालाई घरगाउँमै पढ्ने व्यवस्था मिलाएका छन् ।

दुई महिना भन्दा बढी समयदेखि जारी लकडाउनले विद्यालय बन्द हुँदा पठनपाठनबाट बञ्चित भइरहेका विद्यार्थीलाई स्थानीय स्तरमै पढ्ने वातावरण मिलाइएको हो । हाम्रो कृषि सहकारी संस्था पटौनाले लकडाउन अघि विभिन्न ठाउँबाट गाउँ फर्किएका युवाहरुसँग मद्धत लिएर कक्षा १० सम्मको पठनपाठन सुरु गरेको संस्थाका अध्यक्ष तिलक खड्काले जानकारी दिए ।

खड्काका अनुसार कोरोना भाईरस (कोभिड–१९) बाट बच्न पढाई स्थलमै साबुन पानीले हात धूने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र एक मिटरको दूरी कायम गरी पढाई सुरु गरिएको हो । कक्षा ९ र १० का विद्यार्थीलाई सहकारीकै भवनमा र त्यो भन्दा तल्लो कक्षाका विद्यार्थीलाई एउटा समूहमा बढीमा १० जना जम्मा पारेर गाउँमै गएर पढ्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष खड्काले बताए ।

बिहिवार पहिलो दिन १५ स्थानमा कक्षा सञ्चालन गरिएको र यसबारेमा जानकारी पाएपछि संस्थाका सदस्य रहेका पटौना बाहेक अन्य क्षेत्रका सदस्यले पनि यस किसिमको कक्षा माग गरेका खड्काको भनाई छ । हरिवन नगरपालिकाको समन्वय एवं सहयोगी समाज नेपाल, साई इङलिस बोडिङ स्कुल र होम इट्टा उद्योगको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।

कक्षाको उद्घाटन गर्दै हरिवनका मेयर गणेश प्रसाद प्रसाईले लामो लकडाउनले विद्यार्थीमा पढ्ने बानी नै हट्दै गइरहेको अवस्थामा पटौनाका युवाहरुले चालेको कदम अत्यन्त महत्वपूर्ण र समय सापेक्ष रहेको बताए ।