आज ३८ जना थपिएसँगै सर्लाहीमा १०८ संक्रमित पुगे

हरिवन – सर्लाहीबाट पठाईएको स्वाब परीक्षणका क्रममा आज (सोमबार) थप ३८ जनामा कोरोना भाईरस पोजेटिभ रिपोर्ट आएको छ । योसँगै सर्लाहीमा १०८ जना संक्रमित पुगेका छन् । दुईजना भने निको भएर घर फर्किसकेका छन् ।

सोमबार कविलासी नगरपालिका अन्तर्गत अगर्वा बजार स्थित जनता माविमा तयार पारिएको क्वारेन्टिनमा राखिएका ३६ जनाको कोरोना भाईरस पोजेटिभ आएको हो । त्यस्तै हरिपुर नगरपालिकाको क्वारेन्टिनमा बसेका दुईजनामा पनि पोजेटिभ नतिजा आएको छ ।

आज कोरोना भाईरस पोजेटिभ देखिएका सबै सबैजना भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका हुन् । कविलासी र हरिपुरका सबै संक्रमितलाई सम्बन्धित स्थानीय तहले आईसोलेसन बनाएर स्थानीय स्तरमै राख्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजमा निर्माण गरेको ५० बेडको आईसोलेसन समेत भरिएपछि आगामी दिनमा सम्बन्धित स्थानीय तह स्वयंले स्थानीय स्तरमै आईसोलेसन बेड तयार पारेर संक्रमितलाई राख्ने व्यवस्था मिलाउने बताईएको छ । मलंगवाको आईसोलेनमा ४५ जना संक्रमित पुगिसकेका छन् ।

सर्लाहीमा सबैभन्दा पहिला कोरोना भाईरस पोजेटिभ देखिएका धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोर वीरगंजबाट निको भएर घर फर्किसकेका छन् भने बागमती नगरपालिका–९ निवासी युवक काठमाडौंबाटै निको भएर घर फर्किएका छन् । बाँकी सबै संक्रमित काठमाडौं, जनकपुर, वीरगंज र सदरमुकाम मलंगवा सहित सम्बन्धित स्थानीय तहले तयार पारेको उपचार स्थलमै आईसोलेटेड छन् ।