भारतीय समुहले अाक्रमण प्रयास गरेपछि सर्लाहीकाे फेनरा नाकामा सशस्त्रद्वारा गाेली प्रहार

भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)

विष्णु – सर्लाहीकाे विष्णु गाउँपालिका स्थित भारतीय सिमावर्ती पकडी-फेनरा नाकामा भारतीय नागरिकहरुको समूहले अाक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले गाेली चलाएकाे छ ।

अाज (अाईतबार) बिहान विष्णु गापा-५ फेनरा बजार स्थित सशस्त्र प्रहरी बलकाे बाेर्डर अाउट पाेष्टमा अाक्रमण सहित हतियार समेत खाेस्ने प्रयास भएपछि तत्काल हवाईफायर गरेर भारतीय समुहलाई भगाईएकाे सशस्त्र प्रहरी बल सर्लाही स्राेतले जनाएकाे छ । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले १ राउण्ड हवाई फायर गरेको छ ।

भारतबाट विभिन्न सामानहरु नेपालतर्फ भित्र्याउन खाेज्दा सशस्त्र प्रहरीले केही भारतीय नागरिकलाई राेकेपछि उनीहरु मुढा बजार लगायत भारतीय गाउँ पुगेर अाफुहरुलाई दुर्व्यबहार भएकाे भन्दै ४०/५० जना गाउँलेलाई उठाएर ल्याएकाे एक स्थानीयले बताए । “एक्कासी ठूलाे संख्यामा अाएकाे समुहले अाक्रमणकाे प्रयास सहित हतियार नै खाेस्न खाेजेपछि तत्काल फायर खाेलियाे”, सशस्त्र प्रहरी स्राेतले भन्याे, “तत्काल फायर खाेलेर भिडलाई तितरवितर नपारेकाे भए घटनाले ठूलाे रुप लिन सक्थ्याे ।”

बिहान पाैने ६ बजे घटना भएकाे र अहिले त्यस क्षेत्रकाे अवस्था शान्तिपुर्ण रहेकाे सशष्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले उज्यालाे अभियानलाई जानकारी दिए ।