हरिवन नगरपालिकाले वृद्धवृद्धालाई घर घरमै भत्ता पुर्याउने

हरिवन – हरिवन नगरपालिकाले नगर क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई घर घरमै पुगेर वितरण गर्ने भएको छ ।
नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले वृद्ध, एकल महिला, अपांग लगायतलाई घर घरमै पुगेर भत्ता वितरण गर्ने तयारी गरिएको जानकारी दिए । ‘विशेषगरी ११ वर्ष मुनीका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकमा कोरोना भाईरस संक्रमणको जोखिम बढी हुने भएकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर वितरण गर्ने निर्णय गरिएको छ’, मेयर प्रसाईंले उज्यालो अभियानसँग भने, ‘जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय बैंकहरुले घर घरमै पुगेर भत्ता वितरण गर्ने गरी तयारी अगाडी बढाएका छौं ।’
यसअघि त्यस्तो भत्ता नगरपालिकाले स्वयं सेवाग्राहीकै बैंक खातामा हालिदिने र सेवाग्राहीले बैंकमा पुगेर झिक्ने गर्दथे । लकडाउनको अवस्थामा सेवाग्राही आफै बैंकमा आउँदा बढी भिडभाड हुने र कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने भएकाले घर घरमै पुगेर भत्ता वितरणको तयारी गरिएको मेयर प्रसाईंले जानकारी दिए । लकडाउन जारी भएको दुई महिना बितिसक्दा समेत घरमै बसेर सहयोग गर्ने भत्ता पाउने सम्पूर्ण सेवाग्राहीलाई थप केही दिन धैर्यधारण गर्न समेत मेयर प्रसाईंले आग्रह गरेका छन् ।