विप्लव समूहका सर्लाही सेक्रेटरीद्वारा प्रशासनमा आत्मसमर्पण, लगत्तै नेकपामा प्रवेश

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले बिहिवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।
विप्लव समूहका कार्यकर्ता चन्द्रनगर गाउँपालिका–४, का ५३ वर्षीय धर्मेन्द्र साह भन्ने सीताशरण साहले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् । साहले विप्लव समूहको नीति तथा काम कारवाहीहरुमा चित्त नबुझेको भन्दै आजैका मितिदेखि सो समूह परित्याग गरी आत्मसमर्पण गर्नुभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
अब उप्रान्त सो समूहका कुनै पनि गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने छैन् भन्ने व्यहोराको कागजमा साहले हस्ताक्षर गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दिलिप सिंह, नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका अध्यक्ष रेवती पन्त लगायतको रोहबरमा साहले प्रशासनमा आत्मसमर्पण गरेका हुन् ।
विप्लव समूह परित्याग गरे लगत्तै साह बिहिवार नै नेकपामा प्रवेश गरेका छन् । पाँच वर्ष भन्दा बढी समयदेखि विप्लव समूहमा क्रियाशील साहले समूहको विभिन्न पदमा क्रियाशील रहँदै आएको र हाल जिल्ला सेक्रेटरीको भूमिकामा काम गर्दै आएका थिए ।
यसअघि गत वर्षको असोजमा महोत्तरीबाट पक्राउ गरेर ल्याइएका विप्लव समूहको महोत्तरी इन्चार्ज र जिल्ला सेक्रेटरीले सर्लाही प्रशासनमा आत्मसमर्पण गर्दै सो समूह परित्यागको घोषणा गरेका थिए ।