लालबन्दीमा एन्टीभेनम उत्पादन गर्ने केन्द्रका लागि जग्गा खरिद गर्न सरोकारवालासँग छलफल

लालबन्दी – सर्लाहीको लालबन्दी क्षेत्रमा स्थापना हुन लागेको एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रका लागि जग्गा खरिद गर्न वुधवार सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
सर्पले डसेका बिरामीमा प्रयोग गरिने एन्टीस्नेक भेनम उत्पादन गर्न एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको हो । लालबन्दी नगरपालिका–६, स्थित केन्द्रको आयोजना कार्यालयमा जग्गा खरिद गर्न इच्छा व्यक्त गरेकाहरुसँग जग्गा खरिद बिक्रीको प्रक्रियाका विषयमा छलफल गरिएको केन्द्र स्थापना गर्न लागेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
पन्तका अनुसार जग्गा खरिद गर्दा कुनै पनि किसिमको अनियमितता हुन नदिन सोझै किसानसँग जग्गा खरिद गरिँदै छ । लालबन्दी नगरपालिकामा पूर्वी फूलजोर खोला, पश्चिमीमा लखन्देही खोला र पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ केन्द्रका लागि ५ देखि १० बिगाह जग्गा खरिद गरिँदै छ । प्रतिष्ठानका अध्यक्ष पन्तले देशमै पहिलो पटक उत्पादन गर्ने एन्टीभेनमका लागि चलनचल्तीको मूल्यमा जग्गा बिक्री गर्न इच्छुक किसानहरुलाई सम्पर्कमा आउन आग्रह गरे ।
तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सर्लाही क्षेत्र नं. १ मा चुनाव लड्न आउँदा सर्पको डसाईबाट एक बच्चाको मृत्यु भएको थाहा पाएपछि यस क्षेत्रमा एन्टीभेनम उत्पादन गर्न आफ्नै नामबाट प्रतिष्ठान नै खोलेर पहल कदमी लिनु लिएका हुन् । जतिसक्दा चाँडो जग्गा खरिद गरी आगामी तीन वर्ष भित्रमैमा एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष पन्तले बताए ।
छलफलमा प्रतिष्ठानका अध्यक्ष पन्त, लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, अन्य जनप्रतिनिधि, केही राजनीतिज्ञ, हालसम्म जग्गा बिक्री गर्न चाहेका किसान लगायत सहभागी भएका थिए ।