आजबाट सर्लाहीभर एउटै समयमा खाद्यान्न पसल र वितिय संस्था खुल्ने

हरिवन – सर्लाही जिल्लाभर एउटै समयमा खाद्यान्न पसल तथा बैंक तथा वितिय संस्था खुलाउने निर्णय गरिएको छ ।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको नेतृत्वमा मलंगवामा बसेको जिल्ला स्थित सम्पूर्ण पालिका प्रमुखहरु, सरोकारवाला सरकारी कार्यालय प्रमुख, सुरक्षा अधिकारी लगायतको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले हरेक आईतबार र बुधबार जिल्लाभरका खाद्यान्न पसल एवं बैंक तथा वितिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । औषधी पसल सहित स्वास्थ्य संस्था, ग्याँस डिपो, दुध विक्री गर्ने पसल र पेट्रोल पम्पको हकमा भने समयसिमा नरहने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले अर्को निर्णय नभएसम्म जिल्लाको कुनैपनि स्थानमा हाटबजार नलगाउने तथा तरकारी बिक्री वितरण सम्बन्धित बिक्रेताले ठेलामा राखेर वा अन्य प्रकारले घर घरमा पुगेर विक्री गर्ने, हरेक स्थानीय तहमा स्वाब परीक्षणका लागि आवश्यक जनशक्ति तथा भीटीएमको उचित व्यवस्थापन स्वयं पालिकाले गर्ने, स्वाब परीक्षण गराउन स्थानीय तहहरुले कम्तिमा ३ जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरी क्वारेन्टिनमा बसेको व्यक्तिहरुको यथाशिघ्र पीसीआर तथा आरडीटी टेष्ट गराउने निर्णय गरेको छ । त्यसैगरी क्वारेन्टिनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै स्थानीय तहले आवश्यक स्वयं सेवक खटाउने व्यवस्था मिलाई सुरक्षा निकायहरुलाई सहयोग गर्ने, सबै स्थानीय तहहरुमा आईसोलेसन वार्डको लागि यथासम्भव स्थान पहिचान गरी आवश्यक तयारी कार्यलाई अगाडी बढाउने र सबै स्थानीय तहबाट संचालित क्वारेन्टिनलाई थप व्यवस्थित बनाउदै बेडको क्षमता बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

जिल्लाभर सबै पालिकाहरुमा एकरुपताका साथ खाद्यान्न पसल एवं बैक तथा वितिय संस्थाहरु संचालन गर्ने निर्णय भएको प्रजिअ जिसीले बताए ।