सर्लाहीका सम्पूर्ण मदरसाको अनुगमन गरी कोरोनाबारे सचेतना प्रदान

हरिवन – सर्लाहीका २० वटै पालिकाका मदरसाहरुको अनुगमन गरी कोरोना भाईरस (कोभिड–१९) विरुद्ध सचेतना प्रदान गरिएको छ ।
मुस्लिम आयोगको निर्णय अनुसार जिल्लामा गठन भएको जिल्ला स्तरीय अनुगमन समितिले जिल्लाभरका ६५ वटा मदरसाको अनुगमन गरी त्यहाँ रहेकाहरुलाई अहिलेको महामारी कोरोना भाईरसका सम्वन्धमा सचेतना प्रदान गरिएको हो । जिल्लाभरका मदरसा, मस्जिद तथा टोल–टोलमा पुगेर मुस्लिम समुदायलाई कोरोनाबाट बच्न, बचाउन र नेपाल सरकारको नीति निर्देशन अनुसार लकडाउनको पालना गर्न आग्रह गरिएको अनुगमन समितिका सदस्य समिम बाबु खानले जानकारी दिए ।
खानका अनुसार अनुगमन पश्चात तयार पारिएको प्रतिवेदन सोमवार मुस्लिम आयोगलाई बुझाइएको छ । हरिवनमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई र प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई भेटेर उनीहरुमार्फत आयोगलाई अनुगमन प्रतिवेदन बुझाइएको अनुगमन समितिका संयोजक एवं हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेख महबुब रेजाले बताए ।