प्रेस लेखेको मोटरसाईकलधारीबाट पेस्तोल बरामद्, पत्रकारको भेषमा अपराध !

पक्राउ परेका दुईजनाले चढेको प्रेस लेखिएको मोटरसाईकल ।
पेस्तोल सहित पक्राउ परेका दुईजना ।

मलंगवा – सर्लाहीबाट दुईथान पेस्तोल सहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको दक्षिणी भारतीय सिमा क्षेत्र स्थित विष्णु गाउँपालिका–३ निवासी २५ वर्षीय मदन साह कानु र भारतको सितामाढी जिल्ला मरहाडिह ग्राम पञ्चायत वडा नं. १ निवासी १९ वर्षीय अनिष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । विष्णु गाउँपालिका–३, विश्वनाथ टोल स्थित बाँसघारीमा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बाँसघारीमा अपरिचित दुईजना मानिस मोटरसाईकल सहित लुकेर बसेका छन् भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रनाउ कुँवरले जानकारी दिए ।

कुँबरका अनुसार उनीहरुको साथबाट थ्रि फिप्टी सानो पेस्तोल १ थान तथा त्यसमा लाग्ने १ थान गोली एवं चाईनिज पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन सहित ५ राउण्ड गोली बरामद् गरिएको छ । उनीहरुको साथबाट भारतीय BR 30 M 6787 नम्बरको लिभो नामक मोटरसाईकल समेत बरामद् गरिएको कुँबरले जानकारी दिए ।

प्रनाउ कुँवरका अनुुसार बरामद् मोटरसाईकलको ‘भाईजर’मा अंग्रेजीमा प्रेस लेखिएको कागज टाँसिएको थियो । ‘प्रेस लेखेपछि सुरक्षाकर्मी एवं स्थानीय सर्वसाधारणले समेत त्यति सारो शंका नगर्ने अनुमान सहित मोटरसाईकलमा त्यस्तो लेखेर टाँसिएको होला’, प्रनाउ कुँवरले भने, ‘शनिबार साँझ पक्राउ परेका दुवैजना विरुद्ध थप अनुसन्धान भईरहेको छ ।’ भारत र नेपाल दुवैतर्फ कडा लकडाउन भएकाले प्रेस लेखिएको कागज टाँसेपछि जतासुकै निर्धक्क हिँडन पाईने र अपराधिक कार्य गर्ने मनसायका साथ उनीहरु हिँड्ने गरेको हुनसक्ने जानकारहरु बताउँछन् । लकडाउनको समयमा सुरक्षाकर्मीबाट बच्नका लागि सर्वसाधारणले समेत सवारी साधनमा प्रेस लेखिएको कागज टाँसेर हिँडने गरेको गुनासो बढ्दै गएको छ ।

२५ वर्षीय मदन साह कानु २०७२ सालमा पनि सवारी साधन चोरी आरोपमा पक्राउ परेको प्रनाउ कुँवरले जानकारी दिए । प्रहरीका अनुसार कानु अदालतबाट धरौटीमा छुटेका थिए ।
दुई नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । आईतबार नै जिल्ला अदालत सर्लाहीबाट हात हतियार खरखजाना मुद्धामा १० दिनको म्याद लिएर दुईजना विरुद्ध अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रनाउ कुँवरले जानकारी दिए ।