महामारीको समयमा रगत अभाव हुन नदिन राजघाटमा रक्तदान शिविर, सय जनाले गरे रक्तदान

रक्तदान गर्दै गरेकाहरु । तस्बिर : सन्तोष गदालको फेसबुकबाट


घनश्याम बलम्पाकी/बागमती – सर्लाहीको राजघाटमा सय जनाले रक्तदान गरेका छन् ।
बागमती नगरपालिका–५, स्थित राजघाट सोल्टीमा बिहिवार आयोजित रक्तदान शिविरमा ९० जना पुरुष र १० जना महिला गरी जम्मा सय जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा राजघाटले आयोजना गरेको रक्तदान शिविरमा नगरप्रमुख भरतकुमार थापा समेत उपस्थित भई रक्तदान गरेका छन् ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था एवं मैनाली पुस्तक तथा गिफ्ट पसल सोल्टी बजारको सहयोगमा रक्तदान शिविर आयोजना गरिएको हो । शिविरमा संकलन भएको रगत ब्लड बैंक जनकपुर पठाइएको आयोजकले जनाएको छ । कोरोना भाईरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान शिविर राखिएको रेडक्रसको राजघाट उपशाखाका सभापति रिखीश्वर शर्माले जानकारी दिए ।