परवानीपुर रुन्चे बजारबाट पाँच किलो गाँजासहित दुई जना पक्राउ

केही महिना अघि सर्लाहीको कर्णाली भनेर चिनिने नारायणखोलामा व्यवसायिक रुपमा लगाइएको गाँजा नष्ट गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली । तस्बिर : उज्यालो अभियान

परवानीपुर – सर्लाहीको उत्तर–पूर्वी भेगस्थित चुरेको फेदीमा रहेको परवानीपुर रुन्चे बजारबाट लागूऔषध गाँजासहित बिहिवार दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा गएको प्रहरी टोलीले फूलजोर खोलाको किनारमा पर्ने लालबन्दी नगरपालिका–१५, देउरालीदेखि अली माथि पर्ने रुन्जे बजारबाट गाँजा आसोरपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच किलो गाँजा समेत बरामद गरिएको छ ।
दुवै जनालाई केही बेरअघि ईलाका प्रहरी कार्यालय लालबन्दी ल्याइएकाले थप विवरण प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । यसअघि मंगलवार राती देउराली पारी पर्ने ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित चाकल टोलबाट प्रहरीले परालको कुनिउँमा लुकाएर राखिएको ५ किलो गाँजा बरामद गरेको थियो ।
नयाँ अनुहारका मानिस हतियारसहित देखा परेको सूचना पाएपछि सो दिन राती नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवास ल्याइएको थियो ।