राहत वितरणमा सर्लाहीको बलरा नगरपालिकामा विवाद : कतै नगद कतै खाद्यान्न वितरण

बलरा नगरपालिकाका मेयर अभयकुमार सिंह

बलरा – सर्लाहीको सुदूर दक्षिण–पश्चिम भेगमा पर्ने बलरा नगरपालिकामा एउटै नगरपालिका भित्र पनि राहतमा कतै नगद र कतै खाद्यान्न वितरण गर्न थालिएको छ ।

लकडाउनपछि समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले नगरपालिकालाई १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेशले पठाएको रकममा नगरपालिकाको तर्फबाट १८ लाख रुपैयाँ थप गरेर प्रत्येक वडालाई तीन–तीन लाख रुपियाँ नगद नै पठाइएको नगरप्रमुख अभयकुमार सिंहले जानकारी दिए ।

बलरामा ११ वटा वडा छन् । तीमध्ये वडा नं. ७, ९ र ११ मा प्रति परिवार ७३५ रुपैयाँ ६२ पैसाका दरले नगद वितरण गर्न सुरु गरिएको वडा कार्यालयहरुले जनाएका छन् । वडा नं. ३ मा भने प्रति परिवार १० किलो चामल, दुई किलो नुन र एउटा साबुन वितरण गर्न सुरु गरिएको छ । नगरप्रमुख सिंहले राहतमा नगद वा खाद्यान्न के वितरण गर्ने ? भन्ने निर्णय गर्ने अधिकार वडामै गठन भएको सर्वदलिय संयन्त्रको भएको बताए ।

खाद्यान्न खरिदको झन्झटका कारण नगरपालिकाले प्रत्येक वडामा पैसा नै पठाएको नगरप्रमुख सिंहको भनाई छ । हुनेखाने परिवारले समेत आफूहरुले राहत नपाए मेयर, वडाध्यक्षमाथि नै आक्रमण गर्ने धम्की दिएकाले वास्तविक प्रभावित समक्ष राहत पु¥याउन समस्या भएको उनले गुनासो गरे ।

बलरा नगरपालिकामा अहिलेसम्म राहत पाउने परिवारको सूची समेत तयार हुन सकेको छैन् । वडा नंं. १, २ र ५ बाट राहत पाउने परिवारको सूची प्राप्त नभएकाले नगरभित्र राहत पाउने कूल परिवार सङ्ख्या निकाल्न नसकिएको नगरप्रमुख सिंहले जानकारी दिए । विपन्न र मजदुर परिवारलाईमात्रै नभएर सबैलाई राहत वितरण गर्नुपर्ने आवाज उठेपछि सर्लाहीका अन्य केही पालिकाले पनि अझै राहत वितरण गर्न सकेका छैनन् ।