युवाहरुको सहयोगमा लकडाउनलाई अझ प्रभावकारी बनाउदै लालबन्दी प्रहरी

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र लकडाउनलाई प्रभावकारी बनाउन युवाहरुसँग सहकार्य गर्न सुरु गरिएको छ ।

प्रहरी मेरो साथी भन्ने नाराका साथ लालबन्दी बजार क्षेत्र तथा नजिकैका अन्य वडामा युवासँग समन्वय गरी डकडाउनलाई प्रभावकारी बनाउने प्रयास सुरु भएको हो । लकडाउन प्रभावकारी बनाउने काममा सहयोग गर्न विभिन्न वडाका युवाहरुलाई मंगलवार बिहान लालबन्दीस्थित प्रहरी बिट अगाडि जम्मा पारेर यो कार्यमा सहयोग गर्न आग्रह गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

बजार तथा आसपासका वडामा सक्रिय युवाहरुमार्फत लकडाउन गर्नेहरुलाई सम्झाई बुझाई गरिने र युवाले सम्झाउँदा कोही कसैले अटेर गरे तत्कालै प्रहरी पुगेर त्यस्ता व्यक्तिलाई आवश्यक कारवाही गर्ने प्रहरी निरीक्षक थापाले बताए । यस्तै उनले लकडाउनको पालना गर्न सबै नगरवासीसँग आग्रह गर्दै यदी नगरभित्र कँही कत्तै कसैले लकडाउनको उल्लंघन गरिरहेको भए नजिकमा पर्ने ईलाका प्रहरी कार्यालय लालबन्दी, ईलाका प्रहरी कार्यालय नवलपुर, प्रहरी चौकी पत्थरकोट वा प्रहरी चौकी परवानीपुरमा खबर गर्न समेत आग्रह गरे ।

यसैबीच लकडाउनको उल्लंघन गरी मोटरसाइकल तथा अन्य सवारी सञ्चालन गर्ने क्रम बढेपछि लालबन्दी प्रहरीले मंगलवारबाट पुन: त्यस्ता सवारीलाई नियन्त्रणमा लिन थालेको छ । अत्यावश्यक काममा पास लिएका सवारी बाहेक अन्य सवारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।