कांग्रेसद्वारा हरिवनमा तत्काल दोस्रो चरणको राहत वितरण गर्न माग

हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिले नगर क्षेत्र भित्र तत्काल दोस्रो चरणको राहत वितरण गर्न माग गरेको छ ।

समितिका सभापति रामशरण उप्रेती, सचिव निरोज कार्की लगायत नगर समितिका पदाधिकारीहरु सहित कांग्रेस हरिवनका नेता कार्यकर्ताहरुको टोलीले नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंलाई बुझाएको ज्ञापनपत्रमा त्यस्तो माग गरिएको हो । मुलुकलाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन लकडाउन गरिएको महिना दिनभन्दा बढी भईसकेकाले सूरुवातमै राहत पाएका परिवारलाई लकडाउन लम्बिदै गएपछि पुनः छाक टार्न समस्या देखिएकाले तत्काल दोस्रो चरणको राहत वितरण गर्न कांग्रेसले माग गरेको सचिव निरोज कार्कीले जानकारी दिए । लकडाउन लम्बिदै गएकाले अभावग्रस्त व्यक्तिहरुको दायरा फराकिलो भईसकेको हुँदा थप लगत संकलन गरि नगरबासी मात्र नभई यहाँ बसोबास गर्ने जो सुकै विपन्नलाई यथाशिघ्र दोस्रो चरणको राहत वितरण गराउन कांग्रेसले नगरपालिका समक्ष अनुरोग गरेको छ ।

‘राष्ट्रिय नीति अनुरुप नगरपालिकाले पनि आफ्नो नगर क्षेत्र भित्र राहत वितरण गर्ने सम्बन्धमा सर्वदलिय अनुगमन समिति गठन भएको र सो समिति गठन हुँदाका अवस्थामा सबै वडाहरुका निर्वाचित वडाध्यक्षको अगुवाईमा सबै पार्टीका प्रतिनिधिहरुको सहकार्य र सहमतिका आधारमा लगत संकलन गरि राहत वितरण गर्ने निर्णय भएतापनि उक्त निर्णयको सबै वडाध्यक्षहरुले पूर्ण पालना नगरेको गुनासो आएको छ’, कांग्रेसको ज्ञापन पत्रमा उल्लेख छ, ‘राहत वितरणमा छुट भएका विपन्न वर्गका परिवारलाई सहमति र सहकार्यका आधारमा राहत वितरण गर्न ध्यानाकर्षण गराउँदै यस नगरको कैलाशपुरी क्षेत्रका विपन्न व्यक्तिहरुले १ र ८ नम्बर वडाको द्विविधाले राहत पाउनबाट बञ्चित रहेको जानकारी भएको हुँदा त्यस क्षेत्रमा नगरपालिकाबाटै कार्यान्वयन गर्न गराउनु हुन अनुरोध छ ।’

त्यस्तै नगरपालिकाको मुटुमा रहेको हरिवन बजार व्यवस्थापन र स्तरोन्नती गर्ने कार्यमा समेत कांग्रेसले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । ‘बजारमा चारैतिर र उपयुक्तताको आधारमा बाटो विस्तार र व्यवस्थापन गर्ने सम्बन्धमा २०७१÷०७२ साल तिरै सर्वदलिय सहमतिका आधारमा बजारको उत्तरतिरको हकमा जग्गाधनी र नगरपालिकाले आ–आफ्नो तर्फबाट बराबर बाटो छोडी नियमानुसार नक्सांकन गरि बाटो निर्माण गर्ने सहमति भएको व्यहोरा वर्तमान नगर कार्यपालिकालाई अवगत गराउन चाहन्छौं’, ज्ञापनपत्रमा भनिएको छ, ‘उत्तरतर्फका जग्गाधनीहरुबाट ८ फिट बाटो छोडी नगरपालिकाका तर्फबाट १६ फिट छोडी बाटो निर्माण गर्ने सहमति भईसकेको भन्ने हाम्रो पार्टीलाई जानकारी हुन आएको हुँदा सो सम्बन्धमा नगरपालिकाले के कुरामा ध्यान दिनु जरुरी छ भने उत्तरतर्फ मात्र १६ फिट छोड्ने नभएर दक्षिण र पूर्वतर्फ पनि सोही अनुसार एकरुपता कायम गरि बाटो छोड्नु पर्दा बजारको क्षेत्रफल साँघुरो हुने हुँदा वर्तमान अवस्थालाई मध्यनजर गरि बजार क्षेत्र प्रवेश गर्ने बाटा भन्दा फराकिलो बाटो आवश्यक नभएको हाम्रो ठम्याई छ ।’ आवश्यक पर्दा एकातिरबाट दमकल, ट्रक, ट्याक्टर जस्ता सवारी प्रवेश गरि अर्कोतर्फबाट निश्कासन हुन पुग्ने नै भएकाले सबैतर्फ एकरुपता कायम गरि बाटो निर्माण गर्न र पूर्व सहमतिलाई कार्यान्वयन गर्दै बजार व्यवस्थापन गर्न कांग्रेसले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

यो पनि पढ्नोस्

कांग्रेसद्वारा हरिवनको प्रकोप कोषमा ५१ हजार

हरिवन नगरपालिकाका मेयर प्रसाईंले प्रमुख विपक्षी पार्टीले दिएको ज्ञापन पत्र अध्ययन गरेर उपयुक्त कदम चालिने जानकारी दिए । राहत वितरणका सम्बन्धमा पनि नगरपालिकाले कोही पनि विपन्न परिवार नछुटुन भन्दै सक्दो प्रयास गरिरहेको मेयर प्रसाईंको दाबी छ । त्यस्तै सर्वदलिय सहमतिबाटै राहत वितरण लगायत नगरपालिकाका अन्य कामहरु अगाडी बढाउने मेयर प्रसाईंले जानकारी दिए । प्रसाईंका अनुसार हालसम्म ४ हजार २०० भन्दा बढी घरधुरीलाई राहत वितरण गरिसकिएको छ ।