सर्लाहीको कालिन्जोर स्वास्थ्य चौकीलाई दुई थान पीपीई सेट प्रदान

कालिन्जोर-सर्लाहीको उत्तरी विकट क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारिबथानको स्वास्थ्य चौकी कालिन्जोरलाई आइतवार दुई थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिका–८, घर भई काठमाण्डौंस्थित सुमेरु अस्पतालका जेनेरल म्यानेजर (जीएम) का रुपमा कार्यरत हेमराज दाहाल (सन्तोष) ले संक्रामक रोगको उपचारमा खटिने चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएका हुन् । आफूहरुले आइतवार बिहान घारिबथानमै पुगेर वडाध्यक्ष नागेन्द्र पाख्रिनलाई पीपीई सेट प्रदान गरेको लालबन्दीका युवा समाजसेवी राजकुमार न्यौपानेले जानकारी दिए ।
हाल महामारीको रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाईरस) विरुद्धको लडाइँमा जिल्लामा विभिन्न मनकारी व्यक्तिहरुले यसरी नै स्थानीय पालिकाहरु तथा लकडाउन पछि प्रभावित परिवारलाई स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरिरहेका छन् ।