मनकारी समाजसेवी आचार्यले दिए ईश्वरपुरका स्वास्थ्य चौकीहरुलाई निःशुल्क तीन लाखको औषधि

बयलवास – युवा समाजसेवी मनोज आचार्यले सर्लाहीको ईश्वरपुर नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुलाई निःशुल्क रुपमा तीन लाख रुपैयाँ बराबरको औषधि दिएका छन् ।

सोही नगरपालिकाको भक्तिपुर घर भई काठमाडाैंमा व्यवसाय गर्दै आएका युवा समाजसेवी आचार्यले नगर भित्रका ईश्वरपुर, भक्तिपुर, कालिन्जोर, श्रीनगर र सोकनाह स्वास्थ चौकीलाई निःशुल्क औषधि दिएका हुन् । लकडाउनका समयमा स्वास्थ्य चौकीहरुमा अत्यावश्यक औषधि अभाव हुन नदिन आफुले कफ सिरफ, सुगर, प्रेसर लगायत रोगका औषधि उपलब्ध गराएको समाजसेवी आचार्यले बताए ।

संकटको बेला नागरिकको स्वास्थ्यमा ध्यान दिनु सबै सचेत नागरिकको दायित्व भएको भन्दै उनले कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला विशेष गरि वृद्धवृद्धा तथा बालबालिकालाई संकट आउन नदिन औषधि उपलब्ध गराएको जानकारी दिए ।
जिल्ला समन्वय समिति सर्लाही सभापति मेथुर चौधरी, ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा, उपमेयर एकावतीदेवी चौधरी, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सर्लाही प्रहरीका प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठ, लगायत जिल्लाका विशिष्ट व्यक्तिहरु, विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरु र स्वास्थकर्मीहरुको उपस्थितिमा आचार्यले आइतवार औषधि हस्तान्तरण गरेका हुन् ।

समाजसेवी आचार्यले यसअघि पनि सोही नगरपालिकाका स्वास्थ्य संस्थाहरू र जिल्लाकै लालबन्दी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन जेनेरेट मेसिन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । त्यस्तै उनले कोरोना भाईरसको संक्रमणबाट बचाउन जिल्लाका सबै एम्वुलेन्स चालकहरुलाई पर्सनल प्रोटेक्टिव ईकुपमेन्ट(पीपीई) प्रदान गरेका थिए । आचार्यले स्वास्थ्य सामाग्री वितरणमा आफुफाई सघाउने सन्तोष दाहाल, नारायण घिमिरे, रविन दाहाल, अमन पोखरेल, अमित भण्डारी लगायतलाई धन्यवाद दिएका छन् ।