सर्लाहीमा कोरोना बुथबाट ११६ जनाको स्वाब संकलन गरेर आज टेकु लगियो

शुक्रबार दिउँसो सर्लाहीको धनकौलमा कोरोना बुथ भित्र बसेका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गराउँदै एक स्थानीय तथा चौरमा रहेका अन्य सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

अहिलेसम्म सर्लाहीका ११८ जनाको स्वाब संकलन

हरिवन – कोरोना भाईरस (कोभिड–१९) संक्रमित भएका नभएको परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपाली सेना सहित सुरक्षानिकायबाट आएको संयुक्त स्वास्थ्यकर्मीहरुको टोलीले सर्लाहीबाट ११६ जना सर्वसाधारणको घाँटीबाट स्वाब संकलन गरेको छ ।

यो सहित सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भईसकेको छ । यसअघि नै धनकौलका एक १४ वर्षीय किशोरको प्रादेशिक अस्पतालमा संकलन गरिएको स्वाबमा कोरोना भाईरस पोजेटिभ देखिसकिएको छ । त्यस्तै गत विहिबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको छ ।

शुक्रबार काठमाडौंबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले राती अबेरसम्म संकलगन गरेको ११६ जनाको स्वाब लिएर टोली आज (शनिबार) नै काठमाडौं फर्किएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरुको टोलीले ‘कोरोना बुथ’ (स्वास्थ्यकर्मी भित्र बसेर सर्वसाधारणको स्वाब संकलन गर्न बाहिर दुईवटा हातमात्र निकाल्न मिल्ने बक्स) सहित अत्याधुनिक सामग्रीहरुको प्रयोग गरेको थियो ।

प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकामा कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार एवं उक्त गाउँका स्थानीय सहित जिल्लाको विभिन्न स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो ।
कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए ।

‘कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका ५ जना सदस्य, उनलाई भारतको दिल्लीबाट फर्किने क्रममा गौरबाट साईकलमा चढाएर ल्याउने एकजना र ती किशोरसँगै सोही क्वारेन्टाईनमा पहिलादेखि नै बस्दै आएका एकजना सहित धनकौलमा २६ जनाको स्वाब संकलन गरिएको छ’, प्रजिअ जिसीले भने, ‘चन्द्रनगर गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब समेत संकलन गरिएको छ ।’

धनकौल गाउँपालिका–५ हरकठवा गोठ गाउँका १४ वर्षीय एक किशोरको स्वाबको काठमाडौंको टेकु अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाईरस पोजेटिभ आएको हो । गत वैशाख ५ गते शुक्रबार आरडीटी पोजेटिभ देखिएपछि ती किशोरलाई धनकौलको क्वारेन्टाईनबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । उनी र उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनालाई सँगै जनकपुर पठाएर दुईपटकसम्म गरीएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई आईतबार पुनः धनकौल गाउँपालिकाकै क्वारेन्टाईनमा फर्काईएको प्रअिज जिसीले जानकारी दिए ।

‘प्रादेशिक अस्पताल जनकपुरबाट दुईवटा रिपोर्ट नै नेगेटिभ आएपछि  बुधबार १४ दिन पुगेकाले ती किशोरलाई क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा पठाईएको थियो’, प्रजिअ जिसीले अचम्मित हुँदै भने, ‘अनि विहिबार त काठमाडौंको टेक अस्पतालबाट पोजेटिभ रिपोर्ट देखियो भन्दै पो खबर आयो, खबर आउने वितिकै तत्काल सुरक्षानिकाय पठाएर किशोरको घर परिवारलाई नियन्त्रणमा राखिहाल्यौं ।’

प्रजिअ जिसी नेतृत्वको टोली विहिबार दिउँसो धनकौल पुगेर ती किशोर एवं परिवारका सदस्यलाई सोधपुछ गरेको थियो । ‘धन्न ठूलो एरियामा अन्य सर्वसाधारणसँग भेटघाट गर्न भ्याईसकेका रहेनछन्’, प्रजिअ जिसीले भने, ‘त्यसैले अहिले हरकठवा गोठ गाउँलाई सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा राखेका छौ ।’
किशोरलाई भने विहिबार साँझ नै वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसनमा पठाईएको छ । परिवारका ५ जना सदस्यलाई तत्कालै गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको प्रजिअ जिसीले जानकारी दिए ।

भारतको दिल्ली स्थित झोला उद्योगमा काम गर्ने ती किशोर गत चैत २३ गते रौतहटको गौर छिरेका थिए । गौरबाट स्थानीय एकजनाको साईकलमा चढेर आउँदै गर्दा बाटैमा नियन्त्रणमा लिएर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको सुरक्षानिकायले दाबी गर्दै आएको छ ।

त्यस्तै गत विहिबार ईश्वरपुरको क्वारेन्टाईनमा बसेका एकजनामा आरडीटी पोजेटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पठाईएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले जानकारी दिए । ‘वडा नं. ९ रामनगरका उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुर पठाईसकिएको छ’, मेयर देवकोटाले भने, ‘उनको स्वाब परीक्षणका लागि जनकपुरबाटै काठमाडौंको टेकु अस्पताल पठाईएको छ ।’

प्रमुख जिल्ला अधिकारी जिसी शुक्रबार संकलन गरिएका ११६ तथा ईश्वरपुरका एकजना सहित ११७ जनाको स्वाब परीक्षणको नतिजा पश्चात सर्लाहीमा कोरोना भाईरस संकमणको अवस्थाबारेमा धेरै कुरा थाहा हुने बताउँछन् । ‘संकलित सबै स्वाब परीक्षणको नतिजा आएपछि सर्लाहीमा संक्रमणको अवस्थाबारे धेरै कुरा थाहा हुन्छ’, प्रजिअ जिसीले भने, ‘टेकुमा निकै नै चाप भएकाले नतिजा आउन केही दिन लाग्ला नै, नतिजा कस्तो आउँछ सोही अनुसार हाँमी अगाडी बढ्ने छौं ।’