सर्लाहीको खुटौनामा जंगली बँदेलको आक्रमणबाट तीन जना घाईते

खुटौना – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको मलङ्गवा नगरपालिका–६, खुटौनामा जङ्गली बँदेलको आक्रमणबाट एक बालिकासहित तीन जना घाईते भएका छन् ।

शनिवार साँझ खेतमा काम गरिरहेकाहरुलाई अचानक देखा परेको जङ्गली बँदेलले आक्रमण गरेको हो । सो घटनामा स्थानीय दुखा रामका १८ वर्षीय छोरा रमेश राम, उपेन्द्र साहकी १३ वर्षीया छोरी काजल साह र २८ वर्षीय विजय साह घाईते भएका हुन् ।

उनीहरु तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि पनि सर्लाहीको रामनगर गाउँपालिकामा बँदेलको आक्रमणबाट एक बालक घाईते भएका थिए । बढ्दो वन विनाशले पछिल्लो समय जङ्गली जनावर मानव बस्ती तथा खेतबारीमा पस्ने क्रम बढेको छ । अहिले वन क्षेत्रमा डढेलो लागिरहेकाले जङ्गली जनावर भागेर मानव बस्तीमा निस्कने क्रम बढेको स्थानीय वासिन्दाले बताएका छन् ।

यसैबीच सीमावर्ती क्षेत्रमै पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–१, मा शनिवार राती लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको छ । स्थानीय दोरी पासवानको गोठमा बालिएको घुरबाट आगलागी हुँदा ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।