महामारीको समयमा असहयोग गरेको भन्दै मलंगवा नगरपालिकाले ४३ जना मेस्तरलाई कामबाट निकाल्यो

मेस्तरहरु आन्दोलित भएपछि सुक्रवार आफै सरसफाईमा निस्किएका मलंगवाका मेयर निरसल साहसहित अन्य ।

मलंगवा-सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाले नगरपालिकाभित्र सरसफाईको काम गर्ने सम्पूर्ण कामदार अर्थात मेस्तरहरुलाई कामबाट निकालेको छ ।
हाल महमारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) बाट बच्न सरसफाईमा अझ बढी ध्यान दिनुपर्ने अवस्थामा काम गर्नै नआएर असहयोग गरेको भन्दै नगरपालिकाले ४३ जना मेस्तरहरुलाई एकै पटक कामबाट हटाएको हो । बिहिवार बसेको नगर कार्यपालिका बैठकले अहिलेका सबै सरसफाई गर्ने कामदारलाई कामबाट हटाएर प्रत्येक वडाले तत्कालै नयाँ कामदार खोजेर सरसफाईको काम अघि बढाउने निर्णय गरेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जानकारी दिए ।
सरसफाईकर्मीहरुले अहिले मात्रै नभएर बाढी तथा डुबानको समयमा, छठ पूजा, लक्ष्मी पूजा लगायत अझ बढी सरसफाई गर्नुपर्नु अवस्थामा असहयोग गर्दै आएका आरोप लगाइएको छ । मलंगवाका मेस्तरहरुले केही दिनदेखि सरसफाई गरेका थिएनन् । उनीहरुले स्वास्थ्यकर्मीलाई झैं आफूहरुले पनि पीपीई सेट (व्यक्तिगत सुरक्षा सामग्री) पाउनु पर्ने, २० लाख रुपियाँको बीमा गर्नुपर्ने, विपन्न परिवारलाई जस्तै राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।
सम्वोधन गर्नै नसक्ने माग राखेर पटक–पटक आन्दोलनमा उत्रिएर सरसफाई नगरेपछि हालका मेस्तरहरुलाई बाध्य भएर कामबाट निकाल्नु परेको नगरप्रमुख साहले बताए ।