रातीको हावाहुरीपछि सर्लाही जिल्लाभर विद्युत् अवरुद्ध, मर्मतको काम चल्दै

सांकेतिक तस्बीर ।

मंगलवार रातीको हावाहुरीपछि सर्लाही जिल्लाभर विद्युत् अवरुद्ध भएको छ । हावाहुरीले कहाँ के कति क्षति ग¥र्यो ? भनि पत्ता लगाएर मर्मतको काम गर्न वुधवार बिहानैदेखि नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रबाट प्राविधिक खटिसकेका छन् ।


सर्लाहीमा रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी विद्युत् प्रशारण लाईनमा सानो हावाहुरी चल्ने बित्तिकै समस्या आउने गरेको छ । राती ठूलै हावाहुरी चलेकाले क्षतिको अवस्था बुझ्न प्राविधिकहरुको टोलीले बागमती पारीको जंगलमा गस्ती गरिरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर रायले जानकारी दिए ।

क्षतिको अवस्था थाहा पाएपछि मात्रै बिजुली सूचारु हुन कतिबेला लाग्छ ? भन्न सकिने प्राविधिकहरुले बताएका छन् । यस्तै जिल्लाको ईश्वरपुर क्षेत्रमा हावाहुरीपछि केही पोल भाँचिएको खबर खाएको लालबन्दी वितरण केन्द्रले जनाएको छ । मुख्य लाईन सूचारु गरेपछि जुन क्षेत्रमा समस्या आएको छ त्यही क्षेत्रको मात्रै लाईन काटेर मर्मतको काम गरिने लालबन्दी वितरण केन्द्र प्रमुख रायले बताए ।