सर्लाही प्रहरीद्वारा लकडाउन उल्लंघन गर्ने ४५० सवारी साधन नियन्त्रण

1396
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा आईतबार बिहान मोटरसाईकल नियन्त्रणमा लिँदै ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेश यादव नेतृत्वको टोली । सुरक्षाकर्मी टोलीले आईतबार दिनभर हरिवनमा सवारी साधन नियन्त्रणमा लिएको थियो । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ४५० सवारी साधनलाई नियन्त्रणमा लिईएको सर्लाही प्रहरीले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि चैत ११ गते देखी शुरु भएको लकडाउनयता आईतबार दिउँसोसम्म जिल्लाभरबाट ठूला तथा साना गरी ४५० वटा सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार मात्रै हरिवन, लालबन्दी, मलंगवा सहित जिल्लाका विभिन्न स्थानमा १०० भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिईएको प्रहरीले जनायो । यसअघि पक्राउ परेका सवारी साधनलाई केही समय नियन्त्रणमा राखेर छाडिसकिएको तथा आईतबार पक्राउ परेकालाई ४८ घण्टापछि मात्र छाडिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती सबै सवारी साधनको कागजपत्र हेरिने र कानून अनुसार जरिवाना समेत गरिने प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

वीरगंजमा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएपछि आईतबारबाट प्रहरी एवं ट्राफिक प्रहरीले अनुमति प्राप्त बाहेकका सवारी साधन नियन्त्रणमा अत्यन्त कडाई गरेको छ । सोमबारबाट अझ कडाई गरिने र पक्राउ परेका सवारी साधनलाई लकडाउन अवधीभर राख्ने गरी कार्बाही प्रकृया अगाडी बढाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।