सर्लाही–काठमाडौं सम्पर्क मंचले दियो स्वास्थ्य सामग्री एवं खाद्यान्न

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले, प्रल्लाद बुढाथोकी सहित मंचका पदाधिकारी । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

हरिवन – सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सर्लाही–काठमाण्डौ सम्पर्क मंचले जिल्ला स्थित ७ वटा नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री एवं खाद्यान्न सहयोग गरेको छ ।

मंचले आईतबार बागमती, इश्वरपुर, लालबन्दी, हरिवन, बरहथवा, मलंगवा र हरिपुर नगरपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । प्रत्येक नगरपालिकालाई २ थान अक्सिमिटर, २ थान निमुलाइजर र तीन क्वीन्टल चामल प्रदान गरिएको मंचका कार्यवाहक अध्यक्ष संतोष दहालले जानकारी दिए ।

मंचले इश्वरपुर र लालबन्दी नगरपालिकालाई भने थप १–१ वटा ठुलो अक्सिजन मेसिन समेत हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री मंचको तर्फबाट सहयोग गरिएको तथा चामल भने नेकपा सर्लाही जिल्ला कमिटी सदस्य राजु थापाले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । मलंगवा नगरपालिका र लालबन्दी नगरपालिका वडा नं. १ लाई ५–५ क्वीन्टल तथा अन्य ५ नगरपालिकालाई ३–३ क्वीन्टल चामल प्रदान गरेको सर्लाहीको नवलपुर घरभई हाल काठमाडौंमा होटल तथा रेस्टुरेण्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका थापाले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको उपस्थितीमा उक्त सामग्रीहरु सम्बन्धित नगरपालिकाहरुमै पुगेर टोलीले हस्तान्तरण गरेको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक दिलिप सिंह सहित नेकपाका नेताहरु प्रल्लाद बुढाथोकी, बद्री न्यौपाने, अच्युतम काफ्ले, रेवती पन्त लगायतको उपस्थिती रहेको थियो ।

५ लाख मुल्य बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको मंचले दाबी गरेको छ । सामग्री वितरणका लागि कार्यबाहक अध्यक्ष दाहालको नेतृत्वमा एक टोली शनिबार साँझ सर्लाही आईपुगेको थियो । कोरोना भाईरस (कोभिड–१९)को संक्रमण विरुद्ध जिल्ला स्थित स्थानीय तहले गरिरहेको अभियानमा टेवा पुगोस् भन्ने उद्धेश्यले स्वास्थ्य सामग्री एवं खाद्यान्न सहयोग गरिएको मंचका कार्यवाहक अध्यक्ष दाहालले जानकारी दिए ।