लकडाउन छिचोल्दै भारतबाट दर्जनौं नेपाली भित्रिएपछि सर्लाहीमा स्थानीय तहका प्रमुख र गाउँले त्रसित

448

मलंगवा – दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै भारतमा काम गर्न आएका दर्जनौं नेपाली धमाधम छिरेपछि सर्लाहीमा त्रास फैलिएको छ । चार दिनयता भारतमा काम गर्न गएका ६३ जना मजदुर सर्लाही भित्रि सकेका छन् । यो त हालसम्म सम्पर्कमा आईसकेकाहरुको संख्या हो । लुकेर आएकाहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बढी प्रभावित भारतका उत्तरप्रदेश, दिल्ली लगायत विभिन्न ठाउँमा काम गर्दै आएका मजदुरहरु लकडाउन छिचोल्दै जिल्ला भित्रिएपछि सर्लाहीका स्थानीय तहका पदाधिकारी एवं सर्वसाधारण गाउँले भयभित बनेका छन् ।

भारतबाट फर्किनेहरुमा हालसम्म सबैभन्दा बढी जिल्ला स्थित चन्द्रनगर गाउँपालिकाका मात्र ४९ जना रहेका छन् । चन्द्रनगर–६ कामत स्थित माविमा स्थापना गरिएको क्वारेन्टाईनमा चन्द्रनगरका ४९ एवं छिमेकी महोत्तरी जिल्ला गौशाला नगरपालिकाका दुईजना गरी ५१ जनालाई राखिएको छ । त्यस्तै ईश्वरपुर नगरपालिकामा पनि ७ जना भारतबाट आईपुगेको मेयर मनोज देवकोटाले जानकारी दिए । जिल्लाकै चक्रघट्टा गाउँपालिकामा ३ एवं हरिपुर नगरपालिकामा २ जना आईपुगेका छन् ।

चन्द्रनगर गाउँपालिकामा मात्र शनिबारसम्म ५१ जनालाई क्वारेन्टाईनमा राखिएको छ । वडा नं. ६, कामत स्थित माविमा स्थापना गरिएको क्वारेन्टाईनमा ५१ जनालाई राखिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । ‘चन्द्रनगरमा मात्र भारतको उत्तरप्रदेश लगायत विभिन्न ठाउँबाट गत बुधबारदेखि आजसम्म ५९ जना आईपुगेका छन्’, अध्यक्ष महतोले भने, ‘क्वारेन्टाईनमा राखिएका मध्ये हाम्रै चन्द्रनगर गाउँपालिकाका मात्र ४९ तथा छिमेकी महोत्तरी जिल्ला स्थित गौशाला नगरपालिकाका दुईजना रहेका छन् ।’
एउटै समूहमा रहेका जिल्ला स्थित ईश्वरपुरका ५, हरिपुरका २ र चक्रघट्टाका २ जनालाई भने सम्बन्धित स्थानीय तहका पदाधिकारी बोलाएर जिम्मा लगाईएको र महोत्तरी गौशालाका २ जनालाई भने केही टाढा भएकाले कामतकै क्वारेन्टाईनमा राखिएको अध्यक्ष महतोले बताए ।

ईश्वरपुर नगरपालिकाका मेयर देवकोटाले चन्द्रनगरमा आईपुगेका ५ बाहेक थप दुईजना भारतबाट लुकेर शनिबार आफ्नो घर आईपुगेको जानकारी दिए । उनीहरु सातै जनालाई वयलबास बजार स्थित गोदावरी अस्पतालमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ ।
चन्द्रनगरका अध्यक्ष महतो र ईश्वरपुरका मेयर देवकोटाका अनुसार क्वारेन्टाईनमा राखिएकाहरुमा ज्वरो, खोकी लगायत कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘हाम्रो क्वारेन्टाईनमा रहेका ५१ जनालाई नै अहिलेसम्म ज्वरो, खोकी लगायत केही पनि देखिएको छैन’, अध्यक्ष महतोले भने, ‘स्वास्थ्यकर्मीले नियमित परिक्षण गरिरहेका छन्, यदि कुनै लक्षण देखिए तुरुन्त काठमाडौं रिफर गर्नेछौं ।’

कोरोना भाईरसको संक्रमण बढिरहेको भारतबाट लकडाउन छिचोल्दै धमाधम मजदुरहरु गाउँ आउन थालेपछि स्थानीय बासिन्दा मात्र हैन सम्बन्धित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु समेत त्रसित बनेका छन् । ‘अझै ठूलै जत्था आउँदैछन रे भन्ने सुनिएको छ’, ईश्वरपुरका मेयर देवकोटाले त्रास व्यक्त गरे, ‘दुवै देशको कडा लकडाउनको समयमा पनि यसरी भारतबाट सर्वसाधारण आउन थाले भने त हाँमीलाई निकै गाह्रो पर्ला जस्तो छ ।’

त्यस्तै चन्द्रनगरका अध्यक्ष महतो पनि भारत र नेपाल दुवैतर्फ कडा लकडाउनको अवस्थामा समेत उनीहरु सिमाक्षेत्रबाट छिर्न सफल हुनुले आफूहरु अचम्ममा परेको बताउँछन् । कोरोना संक्रमण बढी भएको उत्तर प्रदेशमा मजदुरी गरिरहेका स्थानीय लुकिछिपी आईपुगेपछि गाउँलेहरुमा त्रास बढेको अध्यक्ष महतोको कथन छ ।

‘सर्लाहीको विभिन्न गाउँबाट मजदुरीमा गएका २२५ जनाको समूह मध्येका छुट्टिएर अहिलेसम्म यतिजना आईपुगेका र बाँकी सबै हिँडेर आईरहेको खबर छ’, अध्यक्ष महतोले भने, ‘अब बाँकी सबैलाई भारततिरै रोकेर क्वारेन्टाईनमा नराखे गारो हुन्छ, लकडाउनको समयमा यता रहेका भारतीयलाई नेपाल सरकारले तथा उता रहेका नेपालीलाई भारत सरकारले क्वारेन्टाईनमा नराख्ने हो भने त कोरोना भाईरस संक्रमणको त्रास बढिहाल्छ नि ।’

त्यस्तै चक्रघट्टा गाउँपालिकामा भारतबाट आएका तीनजना मध्ये दुई मजदुरलाई गाउँपालिका कार्यालयमा स्थापना गरिएको क्वारेन्टाईन तथा एक महिलालाई होम क्वारेन्टाईनमा राखिएको अध्यक्ष विक्रम यादवले जानकारी दिए । ‘उनीहरु कसैमा ज्वरो लगायत केही लक्षण देखिएको छैन, भारतबाट आएकाले क्वारेन्टाईनमा राखेका हौं ।’ अध्यक्ष यादवले भने । चक्रघट्टाका दुईजना चन्द्रनगर गाउँपालिकामा दुई दिनअघि समूहमा आईपुगेका हुन् भने एक महिला आफै शनिबार घर आईपुगेकी हुन् ।
त्यस्तै हरिपुर नगरपालिकाका दुईजनालाई पनि फरहद्वा स्वास्थ्य चौकीको क्वारेन्टाईनमा राखिएको मेयर जमिरुद्धिन मन्सुरले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिका निवासी सामाजिक अभियन्ता राजकुमार महतो सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा नगरे स्थिती भयाबह हुने बताउँछन् । ‘कोरोना भाईरस संक्रमण बढिरहेको भारतबाट यसरी दिन दुगूना रात चौगूनाका दरले जिल्लामा सर्वसाधारण छिरिरहने हो भने स्थिती भयावह हुन सक्छ’, त्रास व्यक्त गर्दै महतोले भने, ‘यस्तो अवस्थामा सिमा क्षेत्र स्थित सुनसान स्थानहरुमा नेपाली सेनाको समेत बाक्लै अस्थायी क्याम्प स्थापना गरेर लकडाउन कार्यान्वयनको पूर्ण जिम्मेवारी दिनु पर्ने देखिन्छ ।’

सिमाक्षेत्र स्थित भारतीय सुरक्षाकर्मीले हालसम्म भारतको विभिन्न ठाउँबाट आएका १२३ जना नेपालीलाई आफ्नो क्वारेन्टाईनमा राखेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । ‘शनिबार सम्म १२३ जना नेपालीलाई भारतको सोनबर्षा लगायत ३ स्थानमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको उताबाट जानकारी आएको छ’, प्रजिअ जिसीले भने, ‘अझै थुप्रै नेपालीहरु सर्लाही भित्रिनका लागि भारतका विभिन्न ठाउँबाट आईरहेका छन रे भन्ने सुनिएको छ, सबैजनालाई भारतीय पक्षले सिमा क्षेत्रमा निर्माण गरेको क्वारेन्टाईनमै राख्नका लागि भारतीय पक्षसँग कुराकानी भईरहेको छ ।’ खुला सिमानाका कारण दुवै देशका सुरक्षाकर्मीको आँखा छलेर सर्वसाधारणले ओहोरदोहोर गर्ने गरेको प्रजिअ जिसी बताउँछन् । सिमा क्षेत्रमा तीन घेरामा सुरक्षा निकायले गस्ती गरिरहेको प्रजिअ जिसीले जानकारी दिए । ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेनाले समेत सिमा क्षेत्रमा नियमित गस्ती गरिरहेको छ ।’ प्रजिअ जिसीले दाबी गरे ।

सिमा क्षेत्रमा अधिकांश स्थानमा उखुबारी, धानखेत लगायत कतिपय स्थानमा त बस्ती नै भएकाले पनि सर्वसाधारणको ओहोरदोहोरमा पूर्ण रुपले नियन्त्रण गर्न कठिनाई भईरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘लकडाउन कार्यान्वयनका लागि सुरक्षाकर्मीहरु दिनरात सिमाक्षेत्रमा खटिरहेका छन्’, प्रउ पोखरेलले भने, ‘उखुबारी, धानखेत जस्ता सुनसान स्थान बढी भएको र दशगजामै गाउँ भएकाले पनि कतिपय सर्वसाधारण लुकिछिपी नेपालतर्फ छिर्न सफल हुने गरेका छन् ।’ यद्यपी सिमा क्षेत्रमा अत्यन्त कडाईका साथ निगरानी बढाईएको प्रउ पोखरेलले दाबी गरे ।