पूर्व सांसद नरेन्द्र साहद्धारा बरहथवा नगरपालिकालाई २५ थान पीपीई प्रदान

576

बरहथवा – लकडाउनपछि समस्यामा परेका परिवारलाई अहिले सर्लाहीका विभिन्न गाउँपालिका र नगरपालिकाहरुले राहत वितरण गरिरहेका छन् । तर त्यसरी बाँडिएको राहत केही ठाउँहरुमा भने वास्तविक अति विपन्न, गरिब, मजदुर र सुकुम्वासीले भन्दा पनि जनप्रतिनिधि नजिकका मानिस र हुनेखानेले पाइरहेको भन्दै व्यापाक गुनासो आइरहेको छ ।

महामारीको अवस्थामा पनि केही जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले मानवतालाई भुलेर भ्रष्टाचार, पार्टीवाद र नातावादमा लागेको भन्दै आलोचना भइरहेको छ । तर मानव जाति नै प्रताडित भइरहेको यही अवस्थामा केही मनकारी व्यक्तिहरुले भने प्रकोप रोकथाम गर्न स्थानीय तह तथा लकडाउनपछि प्रभावित भइरहेका परिवारलाई अमूल्य सहयोग प्रदान गरिरहेका छन् । सोही क्रममा सर्लाही क्षेत्र नं. ३ का पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साहले शनिवार बरहथवा नगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) जस्तो संक्रामक महामारीको नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

अप्ठेरो पर्दा बेला–बेलामा सर्लाहीका विभिन्न निकाय तथा संघसंस्था र व्यक्तिलाई गुण लगाउँदै आएका पूर्व सांसद साहले बरहथवा नगरपालिकालाई २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), ५ हजार थान मास्क र १० लिटर स्यानिटाइजर प्रदान गरेका बरहथवा नगरपालिका कार्यालयले जनाएको छ । पूर्व सांसद साहले आफ्ना सहयोगी मार्फत बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।